२ दशकदेखि माछापालनमा जमेका अमरसिंह चौधरी, वार्षिक ४० टन माछा उत्पादनबाट आम्दानी

२०८० असार ३ गते प्रकाशित

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–५ जगतिया टोलका अमरसिंह चौधरी विगत २ दशकदेखि व्यवसायिक माछापालनमा आवद्ध छन् । वि.सं २०५७ सालदेखि माछापालनमा लागेका उनले अहिले सफल माछापालक किसानको पहिचान बनाएका छन् ।

उनको बुबाले सुरुमा घरनजिकैको ५ कठ्ठा जमिनमा ठूलो पोखरीमा माछा पाल्ने गर्थे । तर, एकदिन पोखरीमा अपरिचित समुहले बिष हालिदिएछ । त्यसपछि पोखरीका सबै माछा मरेपछि उनले ठूलो घाटा ब्यहोर्नुपर्यो ।

त्यसपछि उनले माछापालनतर्फ लाग्नुपर्छ, हरेस खानु हुँदैन भन्ने इच्छाशक्ति उनमा थियो । आफ्ना बुवाको प्रेरणा पाएर उनले २०५७ सालमा १६ कठ्ठा जमिन लिँजमा लिएर व्यवसायिक रुपमा माछापालन सुरु गरे । आफ्नै ‘अमर मत्स्य फर्म’ दर्ता गरेर उनी माछापालनमा सक्रिय रुपमा लागे ।

त्यतिबेला अहिले जस्तो पोखरी खन्न मेसिन तथा उपकरणको प्रयोग गर्ने चलन थिएन् । परम्परागत रुपमा ज्यामी लगाएरै माछापोखरी खनेको चौधरीको अनुभव छ । त्यतिबेला माछा खासै बिक्रि हुदैनथ्यो । ‘निकै संघर्ष गरेर ज्यामी लगाएर पोखरी खन्नुपथ्र्यो, अहिले जस्तो प्रविधि र उपकरणको विकास त्यतिबेला भएको थिएन’ उनले भने, ‘माछा पनि बिक्ने थिएन । त्यतिबेला २० रुपैयाँ प्रतिकेजीमा माछा बिक्रि हुन्थ्यो ।’

सुरुमा उनले ८० हजार रुपैयाँ लगानीमा पोखरी निर्माण गरेर माछापालनमा लागेका उनले अहिले वार्षिक ४० टनसम्म माछा उत्पादन गरि बिक्रि गर्ने गर्छन् । उनको फर्ममा अहिले ८ वटा ठूला पोखरी र ६ वटा माछाको नर्सरी पोखरी छन् ।

करिब साढे १३ विघा आफ्नो स्वामित्वको जग्गामा उनले माछापालन गरिरहेका छन् । नर्सरी पोखरीमा भूरा माछा हालेर केही समयपछि ठूलो पोखरीमा स्थानान्तरण गर्ने गर्छन् । यसअघि ब्लकमा रहेको सो वडालाई अहिले माछा जोन घोषणा गरिएको छ ।


थप ३ विघामा पोखरी विस्तार गर्ने योजना

चौधरीले भविष्यमा थप ३ विघा क्षेत्रफलमा पोखरी निर्माण गरि माछापालनलाई थप विस्तार गर्ने योजना रहेको बताए । ‘थप ३ विघा जति जग्गामा पोखरी बनाएर माछा पाल्ने योजना छ ।’ उनले भने, ‘त्यसका लागि उपयुक्त जग्गाको खोजीमा छु ।’ माछापालनबाट आफ्नो घर व्यवहार चलाउन समस्या नभएको उनको भनाई छ ।

सरकारी अनुदानले उत्साह थप्यो

सो टोलका अधिकांश किसानले माछापालन गरिरहेको चौधरी बताउँछन् । लामो समयदेखि माछापालनमा सक्रिय रहेको उनलाई सरकारले अनुदान दिएर सघाइरहेको छ । आर्थिक वर्ष २०७८।०७९ र चालू आव २०७९।०८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उनलाई माछा राख्ने ट्यांकी, २ थान अक्सिन दिने एरिएटर, १ थान बोरिङ मेसिनलगायतमा अनुदान दिएको छ । ती उपकरणमा ५० प्रतिशत अनुदान पाएको उनले बताए ।

दुवै आर्थिक वर्षमा गरेर परियोजनाबाट उनले २ लाख रुपैयाँ भन्दा बढीको अनुदान पाएको बताए । सरकारी अनुदान पाएपछि माछापालनमा उत्साह बढेको उनी बताउँछन् ।

उनले उत्पादन गरेको माछा स्थानीय बजार र नेपालगन्ज, बाँके, गुलरियालगायतका बजारमा बिक्रि हुने गरेको छ । माछाका लागि बिद्युत् र पानीको अभाव रहेको उनको गुनासो छ । यद्यपी, भारतको खुल्ला सीमा नाकाबाट भित्रिने माछासँग प्रतिष्पर्धा गर्न नसकेको उनको भनाई छ । सस्तोमा भारतबाट खुलमखुला रुपमा माछा आयात हुँदा आफ्नो माछाले सोचेअनुसारको बजार नपाएको उनको गुनासो छ ।