व्यवसायिक तरकारी खेतीमा जुट्दै कपुरकोटका किसान, सामुहिक खेतीमा पीएमएमपीको साथ

२०८० असार ३ गते प्रकाशित

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ का तिलक शर्मा विगत १२ वर्षदेखि व्यवसायिक तरकारी खेतीमा संलग्न छन् । आफ्ना बाबुले गर्दै आएको पुख्र्यौली पेशालाई उनले पनि निरन्तरता दिएका हुन ।

वि.सं २०६८ सालदेखि व्यवसायिक रुपमा तरकारी खेती अंगालेका उनी अहिले कपुरकोटका सफल किसानका रुपमा गनिन्छन । तरकारी खेतीसँगै समाजसेवा गर्न रुचाउने उनले अहिले ७ रोपनी क्षेत्रफलमा तरकारीको नर्सरी र हाइटेक टनेल निर्माण गरि विभिन्न तरकारी उत्पादन गर्दै आएका छन् ।

आफ्नै जग्गामा उनले तरकारीका विरुवा, वनजन्य वनस्पति र बहुवर्षे विरुवाहरुको नर्सरी स्थापना गरेर बिक्रि गर्दै आएका छन् । उनले ३ रोपनी क्षेत्रफलमा तरकारी तथा फलफुलको नर्सरी स्थापना गरेका छन् भने बाँकी ४ रोपनीमा हाइटेक प्रविधिबाट टनेल निर्माण गरि तरकारी खेती गर्दै आएका हुन ।

सुरुमा साढे ३ लाख रुपैयाँ लगानी गरेका उनले अहिलेसम्म तरकारी खेतीमा ३५ लाखभन्दा बढी लगानी भइसकेको बताए । अनमिन एग्रीकल्चर प्रालि नामक फर्म दर्ता गरि उनले मौसमी तथा बेमौसमी तरकारी फलाइरहेका छन् ।

‘त्यतिबेला सुरुमा ३ देखि साढे ३ लाख रुपैयाँ लगानी गरेको थिएँ । पछि हाइटेक टनेल प्रविधिमा जाँदा जग्गाको व्यवस्थापनलगायतमा गरेर अहिले ३५/३६ लाख रुपैयाँ लगानी भइसकेको छ ।’ उनले कृषिपानासँग बताए । खासगरी, हाइटेक टनेलमा टमाटर, काउली, सागसब्जी, भेडे खुर्सानीलगायतका तरकारीहरु उत्पादन हुन्छ भने नर्सरीमा प्याज, तरकारी तथा फलफुलका विरुवा र बनजन्य विरुवाहरु उत्पादन गर्ने गरिएको छ ।

आफ्ले उत्पादन हुने तरकारी स्थानी बजारसँगै बुटवल, महेन्द्रनगर, धनगढीलगायतका सहरमा बिक्रि हुने गरेको उनको भनाई छ । उनले आफुले मात्र तरकारी उत्पादन गर्दैनन् । सो क्षेत्रका किसानलाई पनि नर्सरीबाट तरकारी तथा फलफुलका विरुवा उपलव्ध गराएर अन्य किसानलाई पनि उत्पादन जोड्नमा उनको ठूलो भूमिका छ ।

किनकी, उनले किसानलाई चाहिने कृषि उपकरण, मेसिन तथा बीउबिजन पनि बिक्रि गर्दै आएका छन् । तरकारी उत्पादनबाट सबै खर्च कटाएर सरदर वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको शर्मा बताउँछन् । सरकारले कपुरकोट गाउँपालिका वडा नम्बर ३ लाई तरकारी पकेट क्षेत्रका रुपमा घोषणा गरिसकेको छ । तिलक शर्मा जस्तै उक्त वडाका करिब ३६६० घरदूरीमध्ये ३४०० घरदूरी प्रत्यक्षरुपमा तरकारी खेतीमा आवद्ध छन् । तरकारी पकेट कार्यक्रमअन्र्तगत किसानलाई तरकारीको सामुहिक र चक्लाबन्दीमा खेती गर्न सरकारले समेत प्रोत्साहन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान सहयोग पाएपछि तरकारीको हाइटेक टनेल प्रविधि निर्माणसँगै किसानलाई उत्पादनमा जोड्न सहज भएको उनी बताउँछन् । गत आर्थिक वर्ष २०७८।०७९ मा परियोजनाले हाइटेक टनेल निर्माणलगायतमा गरेर १६ लाख रुपैयाँ अनुदान उपलव्ध गराएको छ ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अघिल्लो साल १६ लाख बराबरको अनुदानस्वरुप सहयोग गरेको हो’ उनले भने, ‘हाइटेक टनेल प्रविधि, बीऊ, विरुवालगायतका ७५ प्रतिशत अनुदान पाएँ ।’ हाइटेक टनेल प्रविधि लागत सस्तो र कम क्षेत्रफलमा बढी उत्पादन लिन सकिने उनको अनुभव छ ।