
काठमाडौं– अखिल नेपाल किसान महासंघले किसानले उत्पादन गरेको कृषि उपजको समर्थन मूल्य तोकेर अनिवार्य खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
आइतबार कालीमाटी तरकारी बजारमा उचित मूल्य नपाएको भन्दै किसानले सडकमै गोलभेडा फ्याँकेपछि महासंघले समर्थन मूल्य तोकेर सरकारले नै खरिद गर्ने व्यवस्था गर्न माग गरेको हो ।
महासंघका महासचिव बाबुराम थापाद्धारा जारी विज्ञप्तीमार्फत किसानका समस्याप्रति सरकारको शुन्य जवाफदेहीताप्रति ध्यानाकर्षण भएको जनाएको छ । हाल उतपादित गोलभेडाको लागत मुल्य समेत प्राप्त नभइरहेको कारण कालिमाटी तरकारी तथा फलफुल बिकास समिति र कृषि तथा पशुपन्छी मन्त्रालय लगायतका सम्बन्धित निकायमा आवश्यक क्षतिपूर्ति तथा दीगो समाधानको महासंघले माग गरेको छ ।
नेपाली कृषि बजारलाई सुरक्षित गर्ने र किसानलाई संरक्षण गर्ने सरकारको कुनै प्रभावकारी नीति नभएका कारण किसानहरु दुध, तरकारी, कुखरा, अण्डा लगायतका उपजहरु सडकमा फ्याकेर विरोध गर्न बाध्य भएको महासंघले जनाएको छ । किसानहरु विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर सरकारले समस्या सम्वोधनका लागि कुनै ठोस कदम लिन नचाहेको महासंघको ठहर छ ।
‘हाल गोडभेला उत्पादनमा क्षति भोगेका गोलभेडा किसानको उत्पादनको वास्तविक तथ्याङ्क संकलन गरी उनीहरुको लागतमुल्य बराबरको रकम राहत स्वरुप थयास्रिघ प्रदान गर्न अखिल नेपाल किसान महासंघ सरकारसंग माग गर्दछ । साथै यसप्रकारका समस्याको दीगो समाधानका लागि उत्पादित सम्पूर्ण कृषि उपजहरुको समर्थन मुल्य निर्धारण गरी उक्त मुल्यमा अनिवार्य खरिदको व्यस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै किसान महासंघ जोडदार माग गर्दछ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।