काठमाडौं । डडेल्धुरा आलु खेतीमा अब्बल बन्दै गएको छ । सरकारले आर्थिक वर्ष २०७४।०७५ मा जिल्लालाई आलु सुपरजोन घोषणा गरेसँगै यस क्षेत्रमा आलुको उत्पादन र क्षेत्रफल विस्तारमा वृद्धि भएको हो ।
खासगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत जिल्लामा आलु सुपरजोन कार्यक्रम लागू गरिएको हो । कार्यक्रम लागू भएसँगै जिल्लामा आलु खेतीप्रति किसान जागरुक बनेका छन ।
आलु सुपरजोन कार्यक्रम लागू भएयता हालसम्म आलु बालीको क्षेत्रविस्तार उल्लेख्य बढेको छ । चालू आर्थिक वर्ष २०७९।८० मा १२२ हेक्टरमा आलु खतीको क्षेत्र विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना डडेल्धुराका प्रमुख ध्रुवराज जोशीले बताए ।
उनका अनुसार, हालसम्म परियोजनाले ८२२ हेक्टरमा आलु बालीको क्षेत्र विस्तार गर्न सफल रहेको छ । आलुबालीको उत्पादन बढेसँगै जिल्लाको उत्पादकत्वमा पनि सुधार आएको उनले बताए । ‘आलु बालीको क्षेत्र विस्तारका लागि क्षेत्रविस्तार कार्यक्रम अघि बढाएको छौं’ उनले भने, ‘हालसम्म ८२२ हेक्टर आलु बालीको क्षेत्र विस्तार गर्न सफल भएका छौं ।’
जिल्लामा आलु सुपरजोन सुरु हुनुभन्दा अघि डडेल्धुराको उत्पादकत्व १७ मेट्रिक टन थियो भने हाल डडेल्धुराको उत्पादकत्व बढेर २२.९ मेट्रिक टन पुगेको उनले बताए ।
किसानले आफुले उत्पादन गरेको आलु शित भण्डारणमा राखेबापत अनुदान दिने गरेको छ । गत आर्थिक वर्ष २०७८।०७९ मा ५६२ मेट्रिक टन आलु शित भण्डारणमा राखेबापत किसानलाई प्रतिकेजी २ रुपैयाँका दरले अनुदान दिने गरेको हो । चालू आव२०७९।८० मात्र ३८६.८ मे.टन आलु शित भण्डरणमा राखिएको परियोजनाले जनाएको छ ।
आलु भण्डारणका लागि अमरगढी नगरपालिका–१ दहमा उग्रतारा शीत भण्डार सञ्चालनमा आइसकेको छ । किसानले उत्पादन गरेको आल नबिग्रोस् र बिक्रि गर्ने बेलासम्म भण्डारण गर्न निकै सहज भएको किसानहरु बताउँछन् ।
त्यतिमात्र होइन, किसानलाई आलु राख्नका लागि परियोजनाले अनुदानमा बोरा वितरण गर्ने गरेको छ । चालू आवमा करिब १५ हजार वटा बोरा वितरण गरिसकिएको परियोजनाले जानकारी दिएको छ । शीत भण्डारमा आलु राखेबापत दिइने अनुदानको प्रत्यक्ष लाभ किसानले लिइरहेका हुन ।
किसानलाई यान्त्रीकरण प्रवद्र्धनमा जोड
सुपरजोन कार्यक्रमले किसानलाई यान्त्रीकरण प्रवद्र्धनमा जोड दिएको छ । जसका कारण आलु खेती हुने नयाँ तथा पुराना क्लष्टरहरुमा खन्ने तथा जोत्ने कार्य पुर्णतया यान्त्रीकिकरण भइ उत्पादन लागतमा न्युनीकरण भएको छ ।
किसानलाई यान्त्रीकरणमा जोड्न परियोजनाले ५० प्रतिशत अनुदानमा मिनिटिलर पावर टिलर वितरण गर्ने गरेको हो । परियोजना लागू भएदेखि हालसम्म ७०७ मिनिटिलर र पावर टिलर किसानलाई अनुदानमा वितरण गरिसकिएको परियोजनाले जनाएको छ ।
त्यसक्षेत्रका किसान पूर्णतया यान्त्रीकरणमार्फत नै खनजोत गरी आलु खेती गर्ने गरेका छन् । चालू आव २०७९।८० मा १५७ मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
जंगली जनावरको अतिक्रमण रोक्न घेरबार र चक्लाबन्दी
आलुबालीलाई जंगली जनावरको अतिक्रमणबाट जोगाउन पनि परियोजनाले किसानलाई सघाइरहेको छ । सो क्षेत्रमा आलु खेती गर्ने किसानको मुख्य समस्या जंगली जनावरको अतिक्रमण नै हो । चालू आ.व.मा छनौट भएका ५ वटा क्लष्टरमा घेरबार कार्यक्रमसहित आलुवालीको चक्लाबन्दी खेती सुरु गरिएको छ । यस वर्ष करिब २९ हेक्टरमा घेरबार कार्यक्रम सञ्चालन गरिएको छ ।
आलुको बिज तथा बीउ बृद्धि गर्नका लागि किसानलाई पिबिएस दाना वितरण गर्ने गरिएको छ । पिबिएसका इनभिट्रो प्लान्टलेट्स वितरणअन्र्तगत २ वटा स्क्रिन हाउसलाई ३८०० इनभिट्रो प्लान्टलेट्सको जाम बोतल ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
चालू आवमा आलुको बीऊ वृद्धि गर्ने किसानलार्ई १५ हजार १०० पिविएस आलुका दाना वितरण गरिएको हो । आलुबालीको उत्पादन बढाउन सिँचाई पूर्वाधारलाई समेत ध्यान दिइएको छ ।
परियोजनाले चालू २०७९।८० मा सिँचाइलाई आलु वाली उत्पादनमा जोड्नका लागि करिब ६५ हेक्टरमा साना सिँचाइ निर्माण र मर्मत कार्यक्रम सञ्चालन गरेको थियो ।