व्यवसायिक सुन्तला र कागती खेतीतर्फ नवलपरासीका किसान, पीएमएमपीको अनुदानले किसानमा उत्साह

२०८० असार ६ गते प्रकाशित

काठमाडौं । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)स्थित देवचुली नगरपालिका–११ का किसान दीपक चापागाइँ विगत ५ वर्षअघि व्यवसायिक सुन्तला र कागती खेतीमा जोडिए ।

चापागाइँसँगै उनका भान्जा देवीप्रसाद भुसाल मिलेर संयुक्त रुपमा सुन्तलजातको फलफुल खेतीमा आवद्ध भए। वि.सं २०७५ सालमा पहिलो पटक उनीहरुले १ हजार सुन्तलाका बोट लगाएर सुरु गरे ।

करिव ५० रोपनी जग्गामा सुन्तलाका बिरुवा लगाएका थिए । ‘सफल कृषि फर्म’ दर्ता गरेर उनीहरुले सुन्तलासँगै कागती र नर्सरीको बगान स्थापना गरेका छन् ।

बौदिकाली गाउँपालिका–६, नेवारबारीमा जग्गा व्यवस्थापन गरी सुन्तला लगाएका हुन । सुन्तलासँगै उनीहरुले २०७६ सालको अन्त्यतिर कागतीको प्लान्ट स्थापना गरे । सोही क्षेत्रको बुलिङ्टार गाउँपालिका–४ मा करिब ८० रोपनी क्षेत्रफलमा उनीहरुले २५ सय कागतीका विरुवा रोपे ।

सुरुमा सुन्तला र कागतीका विरुवाहरु बाहिरी जिल्लाबाट ल्याएर रोपेको चापागाइँ बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्राविधिक सहयोग सँगै सुन्तला र कागतीका विरुवामा अनुदान उपलव्ध गराएको थियो ।

परियोजनाअन्र्तगत नवलपरासी पूर्वमा सुन्तलाजातको फलफुलको जोन कार्यक्रम लागू भएपछि सुन्तलाजातका विरुवामा ५० प्रतिशत अनुदान दिएको हो । परियोजनाबाट प्राविधिक सल्लाहसँगै विरुवा, स्प्रे मेसिन, पाइप, ट्याक्टर, नर्सरी बगान, स्टोर हाउस निर्माण र स्क्रीन हाउस निर्माणमा अनुदान सहयोग प्राप्त भएको उनले बताए ।

सुन्तला र कागतीका विरुवा आफैँ उत्पादन गर्ने उद्देश्यले एक वटा नर्सरीको मदर प्लान्ट र र २ वटा स्क्रीन हाउस निर्माण भइसकेको उनले बताए । नर्सरीमा सुन्तला र कागतीका विरुवाका लागि चाहिने मल आफैं उत्पादन गर्ने गरिएको छ ।

साढे २ करोड लगानी

हालसम्म १३५ रोपनी क्षेत्रफलमा सुन्तला, कागतीको खेतीसँगै नर्सरीको बगान फैलिएको छ । ५ रोपनी क्षेत्रफलमा नर्सरी बगान छ । सुरुवातदेखि हालसम्म सुन्तलाजातको फलफुल उत्पादनमा हालसम्म साढे २ करोड लगानी भइसकेको चापागाइँ बताउँछन । तर, अहिलेसम्म उत्पादनले आम्दानी दिन सकेको छैन् ।

सुन्तलाका विरुवा हुर्केर फल लागेर आम्दानी गर्न ४/५ वर्ष लाग्ने हुन्छ । यो वर्षदेखि भने सुन्तला र कागतीले राम्रो आम्दानी दिने चापागाइँको अपेक्षा छ ।

अहिले सुन्तला र कागतीका बोटमा फल लाग्न थालिसकेको छ । अहिलेसम्म लगानी मात्रै गरेका उनीहरुले अब भने व्यवसायिक रुपमा उत्पादनबाट आम्दानी गर्नेछन् ।

पशुपालनलगायतमा वर्षैभरी हेरचाह र पालनपोषण गर्नुपर्छ तर, अम्लीय फलफुललाई एक पटक लगाएपछि वर्षको १/२ पटक मल, सिँचाइ गरेपछि पुग्ने हुँदा यतातर्फ लागेको उनी बताउँछन् ।

अन्यको तुलनामा पछि उत्पादन लागत पनि सस्तो हुने हुँदा राम्रो आम्दानी हुने उनको बुझाइ छ । ‘पशुपालन गर्दा वर्षैभरी हेरचाह गर्नुपर्छ । तर, यसमा त्यस्तो गर्नुपर्दैन । एक पटक लगाइदियो, वर्षको १/२ पटक मल र सिँचाइ गर्यो, पुग्छ’ उनले भने,‘पछि उत्पादन लागत लाग्दैन, आम्दानीका हिसावले राम्रो हुने देखेर यस्मा लागेका हौं ।’

थप १० हजारमा विस्तार गर्ने योजना

सिँचाइका लागि कृषि ज्ञान केन्द्रले पनि इन्टेक र ट्याकी निर्माणमा सहयोग गरेको छ । पीएमएमपीको अनुदान सहयोग र प्राविधिक सल्लाह पाएपछि आफुजस्ता किसान उत्साह थपेको उनको भनाई छ ।

आफ्नो फर्ममा परियोजनाले हालसम्म करिव ३० देखि ३५ लाख बराबरको अनुदान सहयोग पाएको चापागाइँ बताउँछन । परियोजनाको सहयोगले भविष्यमा अझ ठूलो क्षेत्रफलको जग्गा व्यवस्थापन गरी ५/५ हजार रोपनीमा सुन्तला र कागतीका विरुवा रोप्ने योजना रहेको उनले कृषिपानासँग बताए ।

कर्मशील किसानका लागि राज्यले सहयोग गरेपछि थप हौसला मिल्ने उनको बुझाइ छ । सो क्षेत्रमा उनीजस्ता अन्य किसान पनि सुन्तलाजातको फलफुलको खेतीमा आकर्षित हुँदै गएका छन ।

यसक्षेत्रमा सुन्तलाजातको फलफुल कार्यक्रम लागू भएपछि किसानहरु व्यवसायिक उत्पादनमा लागिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई नवलपरासी(पूर्व)का प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

कार्यक्रम लागू भएसँगै जिल्ला सुन्तलाजातको फलफुलका विरुवामा आत्मनिर्भर बनेको र अहिलेसम्म ७५६ हेक्टर क्षेत्रफल विस्तार भएको उनले बताए । कार्यक्रम लागू हुनुपूर्व ३३१ हेक्टर जमिनमा मात्र उत्पादन हुन्थ्यो ।

परियोजनामार्फत कार्यक्रम लागू भएसँगै क्षेत्रविस्तार पनि दोब्बर भएको शर्माले बताए । जिल्लाका ६ वटा स्थानीय तहका १७ वटा वडामा सुन्तलाजातको फलफुलखेती कार्यक्रम लागू भएको छ । परियोजनामा ३ वटा सहकारी, १८ वटा समुह र २८ जना उद्यमी तथा किसान आवद्ध छन् ।