धान सुपरजोन लागू भएसँगै कन्चनपुरका किसानको यान्त्रीकरणमा फड्को, यसवर्ष २४ हेक्टर चैतेधानको क्षेत्र विस्तार

२०८० असार ६ गते प्रकाशित

काठमाडौं । कन्चनपुरको बेलौरी नगरपालिका–७ का किसान प्रकाश रानाले आफ्नो ८ विघा जमिनमा धान खेती गर्छन । विगत ५ वर्षअघि उनले गोरुको सहायताले धानबाली लगाउँथे । अहिले जस्तो मेसिन र प्रविधिको प्रयोग हुँदैनथ्यो । धानको ब्याड राख्नेदेखि, रोपाइँ गर्ने र जोत्नेसम्म गोरु र जनशक्ति लगाएर बाली लगाउँथे । तर, अहिले समय फेरिएको छ ।

अहिले उनले आधुनिक र यान्त्रीकरणको प्रयोग गरि धान खेती गर्छन । धानको ब्याड राख्नेदेखि धान हार्भेष्ट गर्दासम्म मेसिनकै प्रयोग गर्ने गरेको उनी बताउँछन् । मेसिन र यान्त्रीकरणमार्फत धान खेती गर्दा उत्पादन बढ्नुका साथै उत्पादन लागत पनि कम पर्ने उनको अनुभव छ ।

बेलौरी नगरपालिका–७ का अर्का किसान आसरे राम बडायकले पनि आफ्नो ४ विघा र समुहको ३० विघामा धान खेती गर्छन् । खासगरी, त्यसक्षेत्रमा छरुवा धान खेती गर्ने गरिन्छ । बडायकले पनि पछिल्ला ४/५ वर्षदेखि मेसिनकै सहायताले धान खेती गर्ने गरेका छन् । गोरु र जनशक्ति लगाएर प्रतिबिघामा बाली लगाउँदा ६० देखि ६५ हजार रुपैयाँ लागत लाग्ने गरेकोमा मेसिनको प्रयोगबाट उत्पादन लागत आधा कम हुने उनको बुझाइ छ । प्रतिबिघामा मेसिनको सहायताले धानखेती गर्दा ३० देखि ३५ हजार लागत लाग्ने उनले बताए ।

धान रोप्ने देखि, गोड्ने, धान काट्नेलगायतका काम मेसिनबाट गर्ने गरेको उनको भनाई छ । उनीहरुजस्तै उक्त क्षेत्रमा प्रायः सबैजसो किसानले यान्त्रीकरणको प्रयोग गरेर धानबाली लगाउने गरेका छन् । सो क्षेत्रमा गोरुको चलन हराइसकेको उनको भनाई छ ।

धानखेती गर्ने किसानलाई बीऊ, मल, सिँचाई, संकलन र प्रशोधन उद्योग स्थापनामा सरकारले अनुदान सहयोग गर्दै आएको किसानहरु बताउँछन् । नगरपालिका, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत किसानले अनुदान सहयोग पाइरहेका हुन् ।

कन्चनपुरलाई आर्थिक वर्ष २०७६।०७७ देखि सरकारले धानको सुपरजोन घोषणा गरि कार्यक्रम लागू गर्दै आएको छ । जिल्लाका ७ वटा स्थानीय तहका ४२ वटा वडाहरुमा धान सुपरजोन विकास कार्यक्रम सञ्चालन भइरहेको छ । धान सुपरजोन लागू भएसँगै त्यसक्षेत्रका किसान यान्त्रीकरणतर्फ आकर्षित छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत धान सुपरजोन कार्यक्रमअन्र्तगत मेशिनबाट धान रोपाइँ प्रदर्शन, स्वदेशी हाइब्रीड धान प्रदर्शन, चैतेधान उन्नत प्रविधि प्रदर्शन, धान बीऊ उत्पादन कार्यक्रम, चैते धानमा उन्नत प्रविधिसहित क्षेत्र विस्तार, हाइब्रीड धानको ब्लक प्रोडक्सन, हरियो मल प्रयोग प्रदर्शनलगायतका कार्यक्रम परियोजनामार्फत हुँदै आएको छ ।

चालू आर्थिक वर्ष २०७९।०८० मा २४ हेक्टर चैते धानबालीकोक्षेत्र विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत परियोजना कार्यान्वयन एकाई कन्चनपुरका प्रमुख सन्जु उपाध्याय रिमालले जानकारी दिइन । उनका अनुसार, १५ हेक्टरमा चक्लाबन्दी गरि मेसिनबाट धान रोपाई भइरहेको उनले बताइन ।

चालू आवमा नै ४८ जना कृषकलाई मिनि टिलर पावर टिलर रिपर र सिड ड्रिल मेसिन सञ्चालनसम्वन्धी र २० जना किसानलाई धान खेतीमा यान्त्रीकरणसम्वन्धी तालिम दिएको उनले बताइन । ९६ वटा साना सिँचाइ जान भइ सिँचित क्षेत्र समेत विस्तार भएको परियोजनाले जनाएको छ । चालू आवमा नै ६२ वटा समुह सहकारी तथा फर्मसँग मिनि टिलर, रिपर, पेडल, थ्रेसर, लेजर ल्याण्ड लेबलरलगायतका कृषि यन्त्रहरु अनुदानमा वितरणका लागि सम्झौता गरिसकिएको छ ।

किसानलाई मलका लागि ५० प्रतिशत अनुदानमा मुङ्ख तथा ढैँचा बीऊ कृषकको मागअनुसार वितरण गरिएको छ भने सहकारी संस्थासँगको लागत साझेदारीमा २ वटा सहकारीले धान मिल तथा चिउरा उद्योग सञ्चालनको तयारी गरिरहेको रिमालले बताइन ।

मेशिनबाटै धान रोपाइँ

गत आव २०७८।०७९ मा जिल्लाका भिमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी न पा र पुनर्वास नपा का १० स्थानमा मेसिनबाट धान रोपाई प्रदर्शन गरिएको थियो। भिमदत्त नगरपालिकाको निबुखेडा र बनगाउँ, कृष्णपुर नगरपालिकाको गुलरिया, बेलौरी नपाको कलकत्ता बजार, शिवनगर तथा शान्तिपुर र पुनर्वास नपाको रामबस्तीमा गरी ७ स्थानमा धान रोप्ने दुई पाङ्ग्रे तथा चार पाङ्ग मेशिनबाट धानको बेर्ना रोपी प्रदर्शन सञ्चालन गरिएको थियो ।

बेलौरी नगरपालिका को हात्तिबोझा, सिंहपुर र कलकत्ता बजार गरी ३ स्थानमा सिड ड्रिल मेशिनको प्रयोग गरी छरुवा धान खेती प्रविधि प्रदर्शन गरिएको थियो। यस आव भिमदत्त नगरपालिका, वेदकोट नगरपालिकाका र शुक्लाफाँटा नगरपालिकाका ८ वटा स्थानमा मेसिनबाट धान रोपाई प्रदर्शन कार्यक्रम सञ्चालनको चरणमा रहेको छ।

त्यसैगरी, वेदकोट नगरपालिका र बेलौरी नगरपालिकाको १।१ स्थानमा छरुवा धान खेती प्रदर्शन गरिएको छ। भिमदत्त नगरपालिकामा १५ हेक्टर क्षेत्रफलमा मेशिनबाट धान रोपाईका लागि बेर्ना तयारी गरी रोपाई कार्यक्रम सञ्चालन भईरहेको छ। कार्यक्रम अन्तर्गत ४ हेक्टर क्षेत्रफलमा रोपाई भईसकेको छ भने बाँकी स्थानमा रोपाईको चरणमा रहेको छ।

मेशिनको प्रयोग गरी धान रोपाई गर्नका लागि ट्रे वा सामान्य प्लाष्टिक बिछ्याएर उखेल्नु नपर्ने गरि वेर्ना तयार गरिन्छ र सो बेर्नालाई मेशिनको माध्यमबाट हिल्याएर तयार गरिएको खेतमा निश्चित दुरी कायम गरी एकनाशले रोपाईँ गरिन्छ।

कृषि मजदुरको प्रयोग गरी धान रोपाईँको लागि एक हेक्टर जमिनमा ३० देखि ३५ जना श्रमिकको आवश्यकता पर्दछ भने ट्रान्सप्लान्टरको प्रयोगद्वारा मेशिन चलाउन एक जना तथा वेर्ना राख्नका लागि थप दुई जना गरी तीन जनाको प्रयोगमा रोपाईँ कार्य गर्न सकिन्छ। यसरी रोपाईँ गर्नाले समयमै रोपण सुनिश्चित हुनाका साथै समान दूरी कायम भई विरुवाको धनत्व सुनिश्चित गर्न सकिन्छ। मेशिनबाट रोपिएका वेर्नाहरु चाँडै सर्दछन् र एकनाशले परिपक्क हुन्छन्।

कृषकको आकर्षण छरुवा धान खेतीमा

ट्रयाक्टरबाट सिड ड्रिल मेशिनको प्रयोग गरी निश्चित दुरी कायम गरी धानको बीउ रोप्ने प्रविधिलाई छरुवा धान खेती प्रविधि भनिन्छ। परम्परागत पद्घति अनुसार धान खेती गर्दा २–३ पटक हलगोरु वा ट्याक्टरले जोति हिल्याएर पाटा लगाएको खेतमा नर्सरी व्याडमा तयार पारेको बेर्ना रोपिन्छ। जसका कारण बढी ज्यामी लाग्छ र कुल उत्पादन खर्च पनि बढी हुन्छ। छरुवा धान खेती प्रविधिमा धानको बेर्ना रोप्नुको सट्टा सिँधै खेतमा धानको बीउ छरिन्छ।

परम्परागत पद्धतिमा भन्दा उल्लेख्य मात्रामा कृषि ज्यामी कम लाग्ने र बालीस्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेती पद्धति आर्कषक प्रविधिको रुपमा कृषकहरु माझ आईरहेको छ। पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारी एवं अन्य रोजगारीका कारण कृषि ज्यामीको अभाव हुँदै गईरहेको हुँदा कृषि ज्यामी कम लाग्ने छरुवा धान खेतीतर्फ कृषकको आकर्षण बढ्दै गईरहेको छ। यस प्रविधिमा माटो नहिल्याइने हुँदा बाली स्थापना गर्न परम्परागत पद्धतिमा भन्दा कम पानी लाग्छ।

एकैपटक धानको बीउ रोपाई गरिने हुँदा व्याड राख्ने, बेर्ना उखेल्ने तथा रोपाईँ गर्ने झन्झटबाट छुटकारा पाईनुका साथै खर्च समेत बचत हुन्छ। जिल्लाको बेलौरी नगरपालिकाका वडा नं ६ र ७ मा छरुवा धान खेती निक्कै फस्टाईरहेको परियोजनाले जनाएको छ।

सो क्षेत्रमा सफलतापूर्वक खेती गरेपश्चात जिल्लाका भिमदत्त र वेदकोट नगरपालिकाका कृषकहरुले पनि यो प्रविधि अनुशरण गरिरहेका छन् ।