काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित हरियाली कृषि तथा पशुपालन कृषक समुहले तरकारीजन्य कृषि उपज उत्पादन देखि बजारीकरण आफैँले गर्ने गरेको छ । ३० जना कृषक आवद्ध रहेको उक्त समुहले कृषकले उत्पादन गरेको तरकारीलाई बजारसम्म पुर्याउने गरेको हो ।
वि.सं २०७१ सालमा दर्ता भएको कृषक समुहमा अधिकांश महिला छन् । सुरुमा २५ जना महिला कृषकहरु आवद्ध रहेको समुहमा पछि ५ जना पुरुष कृषक थपिएका छन् ।
हरियाली कृषक समुहमा आवद्ध किसानले ३० रोपनी क्षेत्रफलबाट तरकारी उत्पादन सुरु गरेका थिए । तर, समुहले अहिले तरकारी खेतीको क्षेत्र विस्तार गरी डेढ सय रोपनी क्षेत्रफलमा सामुहिक तरकारी खेती गर्दै आएको छ ।
खासगरी, गोलभेँडा, प्याज र लसुनको ठूलो परिमाणमा उत्पादन हुने गरेको छ । त्यससँगै काक्रो, सिमि, काउली, बन्दा र खुर्सानीसमेत उत्पादन गरि कृषक समुह आफैँले बजारीकरण गर्ने गरेको छ ।
उक्त समुहले कृषकले उत्पादन गरेको तरकारीको संकलन, भण्डारण, ढुवानी र बजारसम्म पुर्याउने काम गर्दै आएको समुहका अध्यक्ष नन्दु बुढाले जानकारी दिए ।
कृषकबाट उत्पादित तरकारीको बजारीकरणमा कुनै समस्या नभएको बुढाले बताए । समुहमार्फत कृषकलाई आवद्ध गराइ सामुहिक रुपमा तरकारी खेती गर्न प्रेरित गरिएको छ ।
गत वर्ष १ करोडभन्दा बढीको तरकारी बिक्रि
उत्पादित तरकारी गोविन्द मण्डीमार्फत बुलबुले कृषि बजारमा जाने गरेको छ । जहाँ, किसानले नै तरकारीको स्टल राखेर बिक्रि गर्ने गर्छन भने कतिपय किसानले व्यापारीमार्फत बिक्रि गर्ने गरेका छन । गत वर्ष मात्र उक्त समुहले १ करोडभन्दा बढीको तरकारी बिक्रि गरेको अध्यक्ष बुढाले बताए । कृषकले उत्पादन गरेको तरकारी करिब ५० किलोमिटरको दूरीमा रहेको तरकारी बजारमा बिक्रि गर्ने गरिएको छ ।
पीएमएमपीको अनुदानले कृषलाई सहज
समुहमा आवद्ध किसानलाई उत्पादन, संकलन, ढुवानी र बजारीकरणमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(पीएमएमपी) ले अनुदान सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७६।०७७ देखि जिल्लालाई तरकारी जोनका रुपमा घोषणा गरिएको यिथो ।
तरकारी जोन कार्यक्रमअन्र्तगत समुहमा आवद्ध किसानलाई मिनिटेलर, थोपा सिँचाइँ, बीऊ, मल्चिङ प्लाष्टिक, हाइटेक टनेल निर्माण र तरकारीको ढुवानीमा समेत अनुदान दिइएको छ । गत वर्ष तरकारी ढुवानीका गाडी खरिदमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको बुढाले बताए । २४ लाख रुपैयाँ लागतको गाडीमा परियोजनाले ५० प्रतिशत अर्थात १२ लाख रुपैयाँ अनुदान सहयोग गरेको अध्यक्ष बुढाले बताए ।
त्यसबाहेक गत वर्ष समुहलाई ७ वटा हाइटेक टनेल निर्माणमा ८० प्रतिशत अनुदान प्राप्त भएको उनले बताए । यसवर्ष एक मिनिटेलर र फलामे टनेल निर्माणमा परियोजनाको सहयोग प्राप्त भएको उनको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समुहमार्फत कृषकलाई अनुदान सहयोग गरेपछि उत्पादन र बजारीकरणमा धेरै सहज भएको उनको भनाई छ । ‘समुहले उत्पादन देखि बजारीकरणसम्मको काम गर्छ । समुहमा आवद्ध किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत तरकारी जोन कार्यक्रमबाट प्राप्त अनुदान सहयोगले धेरै सहज भएको छ ।’ उनले भने, ‘जसका कारण ढुवानीमा सहज हुनुका साथै बजारको समस्या हटेको छ ।’
तरकारी उत्पादनका लागि उक्त क्षेत्रमा पानीको समस्या छैन । उक्त क्षेत्रमा हरियाली कृषक समुहले मात्र होइन, बरपिपल कृषि समुह र प्रगतिशित कृषि समुहले पनि सामुहिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।