नमुना बन्दै रामेछापको कालीदेवी बाख्रापालन फर्म, नश्ल सुधारमा पीएमएमपीको सहयोग

२०८० असार ७ गते प्रकाशित

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१३ मा रहेको कालीदेवी बाख्रापालन फर्म जिल्लामै नमुना बन्दै गएको छ । ५ जना कृषकहरुको साझेदारीमा बाख्रापालन सुरु गरिएको थियो ।

वि.सं २०७५ सालमा दर्ता भएर सञ्चालनमा आएको फार्ममा अहिले डेढ सयको संख्यामा विभिन्न जातका बाख्राहरु पालिएको छ । सुरुमा २ जना कृषकले सुरु गरे पनि पछि ५ जना कृषकहरुको साझेदारीमा संस्था दर्ता गरिएको थियो ।

सुरुमा जग्गा व्यवस्थापन, खोर निर्माणलगायतमा ५ लाख लगानी गरे पनि पहिलो वर्ष आम्दानी लिन नसकिएको फर्मका अध्यक्ष टंकबहादुर खत्रीले बताए । निर्माण गरिएको काठको खोर २ वर्ष नपुग्दै भत्केपछि लगानी डुबेको खत्रीको अनुभव छ ।

त्यसबेला उनलाई अब बाख्रापालन गर्न सकिँदैन, बन्द गरौं भन्नेसम्मको सोच नआएको होइन । जब उनीहरु २०७८ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँग जोडिए । त्यसपछि भने बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन ।

आर्थिक वर्ष २०७६।०७७ देखि परियोजनाअन्र्तगत जिल्लामा बाख्रा जोन कार्यक्रम सञ्चालन भइरहेको छ । जसअन्र्तगत कालीदेवी बाख्रापालन फार्मले पनि परियोजनाबाट लागत साझेदारीमा बोयरका पाठापाठी खरिद गर्न अनुदान सहयोग पाएको थियो ।

फार्मले आव २०७८।०७९ मा बोयर जातका पाठापाटी खरिदमा परियोजनाको ५० प्रतिशत अनुदान पाएको खत्रीले बताए । कुल ५ लाख रुपैयाँमा बोयर जातका पाठापाठी र माऊ बाख्राहरु चितवनबाट खरिद गरेर ल्याइएको थियो ।

अहिले पक्की भवनसहितको खोर निर्माण गरिएको छ । ५ लाख लगानीमा सुरु गरिएको बाख्रा फर्ममा अहिले ३० लाख रुपैयाँ लगानी भइसकेको खत्रीले बताए ।

फर्ममा स्थानीय जात जस्तैः जमुनापारी, खरी, सिदल र बोयर प्रजातीका बाख्राहरु छन । स्थानीय जातका बाख्रालाई बोयरसँग क्रस गराएर उन्नत प्रजातिका पाठापाठी हुर्काएर बिक्रि गर्ने गरिएको छ ।

पीएमएमपी परियोजनाअन्र्तगत बाख्रा जोन कार्यक्रमबाट अनुदान सहयोग प्राप्त गरे पछि राम्रो आम्दानी गर्न सफल भएको उनले बताए । परियोजनाको सहयोगपछि बाख्राको संख्या बढेको र वार्षिक ४ लाख हाराहारीमा आम्दानी हुने गरेको उनले कृषिपानालाई बताए ।

‘२ वर्ष अघि चितवनबाट बोयर जातका पाठापाठी खरिद गरेका थियौं । त्यसमा परियोजनाबाट ५० प्रतिशत अनुदान प्राप्त भयो । ५० प्रतिशत हाम्रो लगानीमा ५ लाख रुपैयाँमा बोयर जातका पाठापाठी ल्यायौं’ उनले भने, ‘त्यसपछि वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छौं ।’

परियोजनाको सहयोगमा पानी संकलन र सिँचाइका लागि पक्की पोखरी निर्माण भएको छ । बाख्रापालनका लागि प्रशस्त चरनक्षेत्र भएकाले घाँसको समस्या छैन । दिनभर बाख्रालाइ बनमा चराउन लग्ने गरिएको खत्रीले बताए ।

तुलनात्मक रुपमा खरी जातको बाख्राबाट राम्रो आम्दानी हुने गरेको छ । ‘खरी जातको बाख्रा छिटो ब्याउने र पाठापाठी छिटो हुर्कने गर्छ । अन्य जातको बाखा्रभन्दा यसबाट आम्दानी बढी हुन्छ ।’ उनले बताए । मासुका लागि खसी र बोका खरिद गर्न मानिसहरु फर्ममै आउने गरेको उनले बताए ।

जिल्लाको ३ वटा स्थानीय तहका २४ वटा वडामा बाख्रा जोन कार्यक्रम लागू भएको छ । हाल जोनअन्र्तगत १५३ वटा समुह, ३८ वटा सहकारी र २८२ वटा फार्महरु आवद्ध छन् । बाख्रा जोन कार्यक्रमबाट हालसम्म १२ हजार भन्दा बढी किसान लाभान्वित भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत परियोजना कार्यान्वयन एकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए ।

अधिकांश किसानलाई तालिमसँगै नश्ल सुधार, कृषि यान्त्रीकरण, बोयर जातको बाख्राका पाठापाठी अनुदानमा वितरण गरिँदै आएको उनले बताए । मासु उत्पादनमा जिल्ला आत्मनिर्भर बनेको र परियोजनाको सहयोगमा मन्थलीमा पशु संकलन केन्द्र समेत स्थापना गरिसकिएको उनले बताए ।