काठमाडौं– झापाको कचनकवल गाउँपालिका–४, फेरकागाछी टोलका कनैयालाल गणेश एक सफल कृषकका रुपमा परिचित छन् । अध्ययनमा मेट्रिक पास गरेका गणेशले विगत लामो समयदेखि कृषिलाई मुख्य पेशाको रुपमा अँगाल्दै आइरहेका छन् । ४३ वर्षीय कनैयालालाइ एक सफल युवा कृषकका रुपमा धेरैले चिन्ने गरेका छन।
उनका बाबु बाजेहरुले कृषि पेशा अगाल्दै आए पनि सुरुमा उनको इच्छा भने व्यापार व्यवसाय गर्ने नै थियो । तर, व्यवसाय गर्नलाई उनीसँग आवश्यक पूँजी थिएन । कमजोर आर्थिक अवस्थाकै कारण उनले उच्च शिक्षा डिग्री हासिल गर्न समेत सकेनन् । तर, उनले कृषि पेशा अँगाल्न थालेपछि भने शिक्षित तथा अशिक्षित सबै वर्गका लागि प्रेरणाका स्रोत बन्न सफल भएका छन्।
व्यवसायिक धान खेतीबाट पनि राम्रो आम्दानी गरेर गुणस्तरीय जीवन बाँच्न सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन, कनैयालाल । झापामा आर्थिक वर्ष २०७३।०७४ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत धानको सुपरजोन कार्यक्रम सञ्चालन भएको थियो ।
परियोजना सञ्चालनमा आएसँगै विभिन्न प्राविधिक, पूर्वाधार तथा मेशिनेरी औजारमा सहयोग प्राप्त भएर व्यवसायिक कृषितर्फ थप उत्प्रेरित भएको उनले बताए । व्यवसायिक धान खेतीमा लागेका उनलाई परियोजनाले प्राविधिक तालिम देखि कृषि मेसिन तथा यान्त्रीकरणमा ५० प्रतिशत अनुदान प्रदान गरेको थियो ।
यान्त्रीकरणको प्रयोगले उत्पादनमा वृद्धि
विगतमा धान खेती गर्नको लागि जनश्रम तथा पशु श्रममा निर्भर हुनुपर्ने बाध्यता थियो । तर हालको अवस्थामा राइट ट्रान्र्सप्लान्टर, पावर टिलर, रोटाभ्याटर, रिपर, थ्रेसरजस्ता मेसिनको प्रयोगबाट बढ्दै गएको छ । जसका कारण उत्पादन लागत कम हुनुका साथै छोटो समयमा र थौरै लगानीमा धेरै धान उत्पादन गर्न सफल भएको कनैयालालको अनुभव छ ।
विगतमा उनका बाबुले १२ विघामा खेती गर्दा पनि ८ जना सदस्य रहेको परिवारलाई समेत खाद्यान्न अपुग हुने गर्दथ्यो । तर, हालको अवस्थामा भने ६ विघामा गरिएको धान खेतीको उत्पादनले परिवारको खाद्यान्नको मागलाई परिपूर्ति गरि उनले वार्षिक करिब २० टन धान विक्रि गर्दै आएका छन ।
विगतमा प्रति विघा २–३ मेट्रिक टन धान उत्पादन हुन्थ्यो भने हाल उन्नत बीउ, सिचाँई, मल, आधुनिक मेशिनरी आदिको प्रयोगले प्रति बिघा ४–५ मेट्रिक टन उत्पादन हुने गरेको छ।
धानबाट वार्षिक २ लाख बचत
पहिले धान खेतीबाट साधारण जीविकोपार्जनको लागि समेत अपुग हुने गरेकोमा हाल सम्पूर्ण खर्च कटाएर वार्षिक २ लाख बराबरको वचत गर्ने गरेको कमैयालालको भनाइ छ ।
हरेक वर्ष प्राकृतिक विपदबाट हुने क्षतिको न्युनीकरण, रासायनिक मलको सहज उपलब्धता, उत्पादित वस्तुको उचित बजार, प्रत्येक बालिमा कृषि बीमाको ग्रहणता र कृषि व्यवसायिकरणसम्बन्धि तालिमजस्ता पक्षहरुमा थप सुधार भएमा कृषिको व्यापक व्यवसायिकरणको लागि टेवा पुग्ने उनको धारणा छ।
कचनकवल गाउँपालिकाका ७ वटा र भद्रपुर नगरपालिकाका ३ वटा वडामा परियोजनाले धान सुपरजोन कार्यक्रम सञ्चालन गरिरहेको छ । धान सुपरजोन कार्यक्रम लागू भएयता चैतेधानको क्षेत्र विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, झापा(धान सुपरजोन) का वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताए ।
उनका अनुसार, कार्यक्रम लागू हुँदा २०० हेक्टरमा चैतेधान खेती हुन्थ्यो । तर, हालसम्म २४०० हेक्टरमा चैतेधानको क्षेत्र विस्तार भएको छ ।