काठमाडौं । सप्तरीको कन्चनरुप नगरपालिका–१, बैरवाका दुर्गानन्द यादव कुनै बेला नेपाल प्रहरीका वरिष्ठ हल्दार थिए । २०५९ सालमा नेपाल प्रहरीको सेवामा जोडिएका शसस्त्र प्रहरीका हवल्दार समेत बनेर सेवा गरे ।
गत २०७५ मा उक्त सेवाबाट अवकाश पाएका यादवको परिचय आजभोली फेरिएको छ । पहिले प्रहरीका हवल्दार उनी अहिले सफल पशुपालक किसानको रुपमा चिनिन थालेका छन ।
अवकाशपछि कुनै न कुनै पेशा गर्नुपर्ने थियो, उनलाई । बाबु बाजेले पनि घरमै गाई भैसी पाल्ने गर्थे । उनले पनि व्यवसायिक भैंसीपालन गर्ने सोचसहित २०७५ माघ १० मा दुर्गालक्ष्मी गाई भैसी फर्म दर्ता गरे ।
घरमै पालेका ५ वटा भैँसीबाट सुरु गरेको उनको फर्ममा अहिले साना ठूला गरी ६५ वटा भैँसीहरु छन् । पहिलो वर्ष ५ वटा भैँसीहरु थपेको उनको भनाइ छ ।
![](https://krishipana.com/wp-content/uploads/2023/06/IMG-20230624-WA0003-1024x473.jpg)
सुरुमा बैंकमार्फत २० लाख रुपैयाँ ऋण काँढेर फर्म सञ्चालन गरेका थिए । पूर्वाधार संरचना, गोठ निर्माण र पाडापाडीहरु खरिदमा लगानी गरेअनुसार उनले राम्रो प्रतिफल प्राप्त गर्न सफल भएका छन् ।
मुर्रासँगै स्थानीय जातका भैँसीहरु पालेका उनले दैनिक डेढ सय लिटर दूध बिक्रि गर्ने गर्छन । दूधको लागि बजारको त्यति समस्या नभएको उनको भनाइ छ । दूधसँगै उनले पाडापाडी र गोबर मल बिक्रि वितरण गर्ने गरेका छन । सबै खर्च कटाएर वर्षको १० लाख रुपैयाँ आम्दानी हुने गरेको यादवको भनाइ छ ।
भैँसीपालनमा उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत सहयोग गरिरहेको छ । आव २०७६।०७७ मा परियोजनाकोत भैँसी जोन कार्यक्रमले उनलाई १०० प्रतिशत अनुदानमा माऊ राँगा वितरण गरेको थियो । माउ राँगा त्यतिबेला ७५ हजार रुपैयाँमा खरिद गरिएको थियो ।
![](https://krishipana.com/wp-content/uploads/2023/06/IMG-20230624-WA0008-1024x473.jpg)
त्यस्तै, आव २०७७।०७८ मा उनले पनि भैँसी स्रोत केन्द्रअन्र्तगत ३ वटा भैँसी अनुदानमा पाएका थिए । कुल ५ लाखमा खरिद गरिएकोमा परियोजनाको ५० प्रतिशत अनुदान अर्थात साढे २ लाख अनुदानबापत पाए । चालू आव २०७९।०८० मा परियोजनाले उनलाई गोठ सुधार गर्न ५० प्रतिशत अर्थात ५ लाख रुपैयाँ अनुदान दिएको थियो ।
परियोजनाको अनुदानले पेशाप्रति जिम्मेवार र थप उत्प्रेरणा बढाएको उनको बुझाइ छ । ‘पीएमएमपी परियोजनाको सहयोगले थप उत्प्रेरणा बढाएको छ । भैँसी वितरण, स्रोत केन्द्र स्थापना, गोठ सुधारलगायतका अनुदान सहयोग पाएको छु ।’ उनले बताए ।
![](https://krishipana.com/wp-content/uploads/2023/06/oooooo.jpg)
प्रशस्त चरनक्षेत्र भएकाले भैँसीपालनका लागि घाँसको अभाव छैन । अझ उनले आफ्नै १ विघा जग्गामा नेपियर, सुपर नेपियर, सुडान, जय, बरसिमजातका घाँसहरु लगाएका छन । भविष्यमा भैँसीको संख्या बढाएर २०० पुर्याउने उनको योजना छ ।
![](https://krishipana.com/wp-content/uploads/2023/06/IMG-20230624-WA0025-1024x473.jpg)