माछापालनमा रामशोभित मुखियाको सफलताः २५ रुपैयाँको लगानीले बनायो करोडपति

२०८० असार ११ गते प्रकाशित

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का रामशोभित मुखियाले झन्डै ४ दशकदेखि व्यवसायिक रुपमा माछापालन गर्दै आएका छन् ।

सामान्य परिवारमा जन्मेका उनले बाबु बाजेले गर्दै आएको पेशा अंगालेका छन् । अचम्मको कुरा के छ भने वि.सं २०४२ सालमा उनले २५ रुपैयाँले माछाका भुराहरु किनेर ल्याइ पोखरीमा पाल्न सुरु गरे । बाउबाजेको दुई/धुर जमिन र छाप्रोबाहेक केही नभएका उनले त्यसबेला जसोतसो २५ रुपैयाँ बचाएर माछाका भुरा किनेर व्यवसाय सुरु गरेका थिए ।

उनी १५ वर्षको उमेर छँदा गाउँमा अरुले माछा पालेर राम्रो आम्दानी गरेको चाल पाएपछि उनले पनि यही व्यवसाय सुरु गरे । ‘२५ रुपैयाँमा पाँच सय माछाका भुरा किनेर सानो पोखरीमा पाल्न सुरु गरँे । त्यसको ६ महिनापछि २४ सयमा माछा बेचेँ ।

त्यसपछि विस्तारै रकम जुटाउँदै माछाका भुरासँगै तीन ओटा पोखरीबाट क्रमशः बढाउँदै लगेँ ।’ उनले कृषिपानालाई बताए ।

अहिले मुखियाले काजल मत्स्य प्रजनन फार्म खोलेर विभिन्न ८ प्रजातिका माछापालन गर्दै आएका छन् । महोत्तरी जिल्ला पुख्र्याैली घर भएका मुखियाले एउटा पोखरीबाट सुरु गरेको माछापालन व्यवसायलाई विस्तार गरी अहिले ६२ वटा पोखरीमा माछापालन गर्छन । ३० वटा भूरा माछा राख्ने नर्सरी पोखरी छन भने ३० वटा पोखरीमा ठूला माछापालन गरेका छन् । व्यावसायिक रुपमा सुरु गरेको माछापालनले उनको जीवन फेरिएको छ ।

२ करोडमाथि लगानी, वार्षिक करोडको आम्दानी

माछापालनबाट उनले वार्षिक रुपमा सबै खर्च कटाएर एक करोडभन्दा बढीको आम्दानी गर्ने गरेका छन् । साइकलमा माछा बेच्ने उनी अहिले आफ्नै निजी कार चढ्छन् । त्यतिमात्र होइन, माछापालनकै कमाइले उनले आलिसान घर बनाइसकेका छन् भने १२ विघा जति जग्गा जोड्न सफल भएको उनको भनाई छ । ‘अहिले त मेरो घरमा सफारी गाडी छ, १२ बिघा जमिन आफैले जोडेको छु । छोराछोरी काठमाडौंका रामै्र स्कुल र कलेजमा पढिरहेका छन्,’ उनले भने ।

अहिले उनले ८० बिघा जमिन भाडामा लिई धनुषाको महेन्द्रनगर, औराहीलगायत विभिन्न ठाउँमा माछापालन गरेका छन् । बैंकबाट करिब दुई करोड रुपैयाँ ऋण लिएर उनले आफ्नो व्यवसाय विस्तार गरेका छन् । माछा पोखरीका लागि १० वर्षको सम्झौता गरी वार्षिक प्रतिबिघा ७५ हजार रुपैयाँ भाडा तिरिरहेको मुखियाले बताए ।

दैनिक ५ सय किलो माछा बिक्री गर्छन् मुखिया । उनका माछा किलोको १८० देखि २५० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । मुखियाले अहिले १५ जनालाई रोजगारीसमेत दिएका छन् । मुखियाको काजल मत्स्य प्रजनन फर्मले वार्षिक २ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्छ ।

पीएमएमपीको दरिलो साथ

उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमले आर्थिक र प्राविधिक रुपमा समेत सघाउँदै आएको छ । व्यवसायिक उत्पादन गरी किसानलाई आत्मनिर्भर बनाउन परियोजनाले माछाको चारी नहोस र बिषादी हाल्न नसक्ने गरी फेन्सिङ (तारजालीको घेराबार) लगाइएको छ ।

५० प्रतिशत अनुदानमा ४० बिघा क्षेत्रफलमा रहेको उनको पोखरीमा फेन्सिङ गरिएको परियोजना कार्यान्वयन इकाइ धनुषाका धनुषाका प्रमुख युगलकिशोर तिवारीले बताए । माछा सुपर जोन कार्यक्रमबाट उनलाई पोखरी खन्नसमेत आर्थिक अनुदान उपलब्ध गराइएको उनले बताए ।

चालू आर्थिक वर्ष २०७९।०८० मा पनि माछा सुपरजोन कार्यक्रमबाट २० लाख रुपैयाँ अनुदान पाएको बताए । सरकारले दिने अनुदानले माछाको पोखरी विस्तार गर्न र पेशाप्रति थप जिम्मेवार बनाएको मुखियाले बताए ।

मुखियाले माछाका लागि दाना भारतबाट ल्याउने गरेका छन् । विदेशबाट ल्याइने माछा र दाना स्वदेशमै व्यवस्थापन हुन सके अर्बौं रुपैयाँ विदेसिनबाट रोकिने मुखियाको तर्क छ । सामान्य लेखपढ गर्न नजाने पनि व्यवसायप्रति मुखियाले देखाएको मेहनत सबै किसानका लागि अनुकरणीय छ ।