काठमाडौं । खैरेनी नगरपालिका–४ का विष्णुमणी न्यौपाने विगत ३ दशकदेखि व्यवसायिक मौरीपालनमा आवद्ध छन् । वि.सं २०५१ सालदेखि व्यवसायिक रुपमा उनले मौरीपालन गर्दै आएका छन ।
मौरीपालनका क्षेत्रमा लामो समय बिताएका उनी एक सफल कृषकका रुपमा उदाहरणीय बनेका छन । ४/५ हजारको सामान्य लगानीबाट मौरीपालन व्यवसाय सुरु गरेका उनले अहिले २ सयभन्दा बढी घार वा गोला मौरी पालिरहेका छन् ।
२०५४ सालमा ‘अन्नपूर्ण एकीकृत कृषि फर्म’ दर्ता गरी उनले हालसम्म मौरीपालन गरिरहेका छन् । व्यवसायिक मौरीपालन उनले आफुले मात्र गर्दैनन्, अरु कृषकलाई पनि मौरीपालनको महत्व र व्यवसायिक सफलताका उदाहरणीय पात्र न्यौपाने हुन् । उनले आफुले त मौरीपालन गर्छन नै । अरु किसानलाई पनि मौरीपालनसम्वन्धी प्राविधिक तालिम समेत उनले दिने गरेका छन् ।

घार बनाउने देखि मौरीपालन गर्दा किसानले गर्नुपर्ने र व्यवसायिक मौरीपालनका लागि गर्नुपर्ने कामसहित उनले विभिन्न ठाउँमा गएर तालिम दिने गरेका छन् । मौरीको मह, घार र रानो मौरीको बिक्रिबापत सबै खर्च कटाएर उनले वार्षिक १६ लाखसम्म कमाउने गरेको बताए ।
‘महिनाको ३० देखि ४० टनसम्म मह बिक्रि हुन्छ । भाऊमा कहिलेकाही तलमाथि पर्छ ।’ उनले भने, ‘त्यस हिसावले १५/१६ लाख रुपैयाँसम्म पनि आम्दानी भयो ।’

कालिका नगरपालिका–४ मा उनले मौरीपालन गरिरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत चितवनमा आर्थिक वर्ष २०७५।०७६ देखि मौरी जोन कार्यक्रम सञ्चालनमा छ ।
परियोजनाले मौरीपालक किसानलाई प्राविधिक तालिम देखि, मौरीका घार वितरण, प्याकेजिङ गर्ने सामान, बोतल र प्रशोधन गर्ने प्लान्टसमेत अनुदानमा वितरण गर्दै आएको छ ।

मौरी जोन कार्यक्रमअन्र्तगत न्यौपानेजस्ता किसानले पनि लाभ लिइरहेका छन् । उनले चालू आव २०७९।०७९ मा ७ लाख लागत पर्ने मह प्रशोधन प्लान्ट राखिसकेका छन् । परियोजनाको ५० प्रतिशत वा साढे ३ लाख रुपैयाँ अनुदाबापत पाएको बताए ।
तर, वर्षेनी मौरी जोन कार्यक्रमले वर्षेनी कुनै एक सामान वितरण गर्दा किसानलाई ठूलो राहत भएको बताए । ‘यस वर्ष मैले मौरी जोनबाट एउटा मह प्रशोधन प्लान्ट ५० प्रतिशत अनुदानमा पाएँ । त्यसबाहेक घार र प्याकेजिङका सामान तथा बोतल किन्ने पैसा पनि दियो’ उनले भने, ‘वर्षेनी कुनै एक आइटम परियोजनाले वितरण गरेको छ । यसले किसानलाई ठूलो राहत भएको छ ।’
तर, पछिल्लो पटक मुलुकमा देखिएको आर्थिक मन्दीका कारण भने महको खपत र बजार खुम्चिएको उनले बताए । पहिले जसरी अहिले मह बिक्रि नभएको उनको भनाइ छ । खैरेनी नगरपालिका ४ कै अर्का किसान सुरेश बस्नेतले पनि मौरीपालनबाट व्यवसायिक सफलता हासिल गर्न सफल भएका छन् ।
रोजगारीका सिलसिलामा २०६४ सालमा साउदी पुगेका उनले त्यहाँ राम्रो काम नपाए पछि नेपाल फर्के । दाजुभाइ र साथीभाइले मौरीपालन गरेको देखेर उनले १ लाखको लगानीमा १२/१३ वटा घारबाट सुरु गरे ।

२०६५ सालदेखि मौरीपालनमा लागेका बस्नेतले अहिले ३३० वटा घार मौरीपालन गरिरहेका छन् । २०६७ सालमा बस्नेत बी फर्म दर्ता गरी व्यवसायिक रुपमा लागेका उनले पनि मौरीपालनबाट वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्छन ।
उनलाई पनि पीएमएमपी परियोजनाअन्र्तगत मौरी जोन कार्यक्रमले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । घार, प्रशोधन प्लान्टमा गरेर चालू आवमा परियोजनाबाट साढे ३ लाख रुपैयाँ अनुदानबापत पाएको बताए ।

व्यवसायिक मौरीपालन गर्ने किसानलाई परियोजना कार्यान्वयन इकाई, मौरी जोन चितवनले प्राविधिक तालिमदेखि प्रत्यक्ष रुपमा अनुदान समेत दिइएको परियोजना चितवनका प्रमुख धनबहादुर थापाले बताए ।
मौरी जोनअन्र्तगत किसानलाई प्राविधिक तालिम, मौरीका घार, प्याकेजिङका सामान, बोतल, प्रशोधन प्लान्ट मेसिनलगायतमा अनुदान दिइएको उनले बताए ।