काठमाडौं– धानबाली लगाउने मुख्य सिजनमै देशभर रासायनिक मलको अभाव सिर्जना भएको छ । असार १५ को पूर्वसन्ध्यासम्म आइपुग्दा देशभरका किसानले मल पाउन सकेका छैनन् ।
शुक्रबार असार १५ मा देशभर धान दिवशका अवसरमा रोपाइँ मेला हुने गर्छ । तर, किसानको मूख्य पर्व असार १५ सम्म का बेला खुसी हुनुपर्ने किसान । दूःखी छन, निराश छन । कारण, मल नहालेरै धान रोप्नुपर्ने भयो भन्ने चिन्ता किसानलाई छ ।
सरकारले किसानलाई दिने अनुदानको ठूला हिस्सा, रासायनिक मल नै हो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालय जिम्मेवार नहुँदा यस वर्ष पनि किसानले मल नहाली धान रोप्ने पक्कापक्की भइसकेको छ ।
मल खरिद र वितरणको जिम्मा पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीसँग मलको मौज्दात निकै न्यून छ । साढे ७ अर्बको मल खरिदको जिम्मा पाएको साल्टले पर्याप्त मल ल्याएको छैन् । मौज्दात पनि निकै कम छ ।
कृषि कम्पनी लिमिटेडसँग अहिले ४९ हजार मेट्रिक टन मल मात्र मौज्दात छ । खासगरी, ३५ हजार मेट्रिक टन युरिया र १४ हजार मेट्रिक टन डीएपी मात्रै मौज्दात रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अधिकांश टेन्डरहरुको मल आइसकेको छ भने नयाँ टेन्डर निकालिएको छैन् । यता, साल्ट ट्रेडिङ कर्पोरेशनले पनि फास्ट ट्रयाकमार्फत ल्याउनुपर्ने मल अहिलेसम्म ल्याउन सकेको छैन् ।
कम्पनीले आयात गर्ने २७ हजार टन मल कोलकत्ताबाट नेपालका लागि चलान हुँदै गरेको भनिए पनि अहिलेसम्म नेपाल भित्रिन सकेको छैन् । खरिद ऐन मिचेर कम्पनीले प्रतिवन्धित मुलुकबाट मल ल्याएको विवादित विषय अझै पनि सेलाएको छैन् ।
साल्टले फास्ट ट्रयाकको मल बोलकबोलभन्दा कम दरमा प्रतिवन्धित मुलुक इरानबाट मल खरिद गरी ल्याउन लागिएको बिषयहरु सदन देखि सडकसम्म उठेका कारण पनि समयमै मल आउँला भन्ने निश्चित छैन् ।
धानबालीको मुख्य सिजन(जेठ देखि असार मसान्तसम्म) करिब १ लाख ७० हजार मेट्रिक टन मलको आवश्यकता पर्ने सरकारी कर्मचारी बताउँछन् । त्यसमा पनि धानबालीका लागि डीएपी मलको माग बढी हुन्छ ।
तर, यस वर्ष रासायनिक मल अभाव हुँदैन, किसानले समयमै पाउँछन् भनेर सार्वजनिक कार्यक्रममा गुड्डी हाँक्ने कृषि सामग्री कम्पनीका एमडी, सचिव र मन्त्री स्वंयमले पनि किसानलाई गुमराहमा राखेको प्रष्ट हुन्छ ।
किनकी, हरेक सरकारी कर्मचारी र मन्त्री आम कृषकहरु पनि जिम्मेवार र जवाफदेही हुनुपर्छ । अर्थात, किसानलाई आवश्यक पर्ने बेलामा मलको सहज आपूर्ति गर्न सक्नुपर्छ ।