काठमाडौं । म्यादीको बेनी नगरपालिका–७, मंगलाघाटका रनबहादुर विक करिब १२ वर्ष विदेशमा बिताए । रोजगारीका लागि २०५६ सालमा रोजगारीको सिलसिलामा दुबई पुगेका उनको त्यहाँ सोचेजस्तो कमाई भएन् । जेनतेन घरखर्च मात्र चल्थ्यो । तर, भविष्यको सपना बोकेर गएका उन १२ वर्षपछि नेपाल फर्किए । र, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच बनाए ।
त्यसअनुरुप, उनले व्यवसायिक बंगुरपालन गर्ने योजना बनाए । घरमा २/४ वटा बंगुर पाल्ने गरेका उनले २०७० सालदेखि ‘साजन बंगुपालन फर्म’ दर्ता गरेर व्यवसायिक रुपमा बंगुरपालन सुरु गरे ।
सुरुमा उनले ३ लाखको लगानीमा १५ वटा बंगुर र खोर निर्माण गरे । अंगेनीखेतमा उनको बंगुपालन फर्म छ । बंगुपालनमा एक दशक बिताइसकेका उनले अहिलेसम्म ५० लाखसम्म लगानी गरिसकेको बताए ।

बंगुरका पाठापाठी बिक्रि र माउ बंगुर भने मासुको उपभोगका लागि बिक्रि हुने गरेको छ । उनले बंगुरपालनबाट मात्रै अघिल्ला वर्षमा वार्षिक १५ लाखसम्म आम्दानी हुने गरेको बताए । खासगरी, बंगुर मासुका लागि पालिने भएकाले बजारको समस्या नभएको विक बताउँछन् ।
‘बजार राम्रो नै छ । खासगरी, मासुका लागि सहर/बजारमा नजिक छ’ उनले भने, ‘पहिले पहिले त हाम्रो उत्पादनले जिल्लालाई नधानेर बाहिरी जिल्लाबाट ल्याउनुपथ्र्यो ।’ दिनमा २ पटक बिहान र बेलुका दाना पानी गराएपछि पुग्ने र आम्दानी पनि राम्रो दिने भएकाले बंगुरपालन व्यवसाय रोजेको उनले बताए ।

बंगुर जोन कार्यक्रमबाट लाभ
उनलाई बंगुरको खोर निर्माण गर्न, गोवर ग्याँस, नश्ल सुधारलगायतका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(पीएमएएमपी)अन्र्तगतको बंगुर जोन कार्यक्रमले सहयोग गरिरहेको छ । म्याग्दीमा २०७५/०७६ देखि बंगुर जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।
परियोजनाले आ.व. २०७५।०७६ मा बंगुरको खोर निर्माण गर्न ६ लाख लागतमध्ये ५० प्रतिशत अनुदान सहयोग गरेको विक बताउँछन् । त्यतिमात्र होइन, उनले आव २०७७/०७८ मा गोबर ग्याँस प्लान्ट बनाउन २ लाख लागतको ५० प्रतिशत अनुदान परियोजनाबाट नै पाएका छन् ।

चालू आवमा नश्ल सुधारअन्र्तगत लागतको ८५ प्रतिशत अनुदानबापत १४ लाख रुपैयाँ पाएको बताए । कुल लागत १८ लाखमध्ये विकले ४ लाख लगानी गरेका छन् । ‘बंगुर जोन कार्यक्रमबाट धेरै नै सहयोग पाइयो । अहिलेसम्म नै अनुदान सहयोग पाइरहँदा खुसी लाग्छ ।’ उनले भने ।
३० लाखको क्षति, पाएनन क्षतिपूर्ति
सरकारले गुणस्तरीय दाना र ढुवानीको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । बजारको दानाका कारण बंगुरमा रोग हुनसक्ने पशु डाक्टरले समेत भनिसकेकाले आफु जस्ता अरु किसान सचेत हुनुपर्ने उनको भनाई छ ।
यसअघि उनको फर्ममा डेढ देखि २०० वटासम्म बंगुर हुने गर्थे । तर, गत २०७९ फागुनमा अफ्रिकन स्वाइन फिबर रोगका कारण उनको फर्मका ६५ वटा बंगुर मरे । जसबाट उनलाई ३० लाख रुपैयाँभन्दा बढीको नोक्सानी भयो । त्यसयता, उनले बंगुर थपेका छैनन् । बंगुरबाट भएको क्षतिको उनले अहिलेसम्म कुनै राहत पाएका छैनन् ।