काठमाडौं । सरकारले किसानले भोग्नुपरेका समस्या र मुद्धालाई वेवास्ता गरेको भन्दै राष्ट्रिय किसान सञ्जालले आन्दोलनको घोषणा गरेको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजारका स्टल तथा सटरहरु विना प्रतिस्प्रर्धा पुरानै व्यापारीहरुलाई भाडामा दिन नविकरण गर्ने निर्णय नसच्याएको, लम्पी स्कीन रोगको महामारीमा चुकेको, बीमा कम्पनीले बीमा नविकरण नगरेको र किसानले रोपाइँकै सिजनमा रासायनिक मल नपाएको लगायतका विषयलाइ सरकारले सम्बोधन गर्न नसकेको भन्दै सञ्जालमा आवद्ध किसानका संघसंगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन ।
यस्ता छन सञ्जालले उठाएका मागहरुः
१. कालीमाटी तरकारी तथा फलफूल बजारका स्टल तथा सटरहरु विना प्रतिस्प्रर्धा पुरानै व्यापारीहरुलाई भाडामा दिन नविकरण गर्ने कालीमाटी बजार विकास समितिको अबैज्ञानिक, अपारदर्शी, किसान र उपभोक्तको हित विरोधी निर्णय तत्काल खारेज गरी स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट सटर र स्टलहरु भाडामा लगाइयोस् । ५० प्रतिशत सटर र स्टलहरु किसानलाई छुट्याइयोस् ।
२.लम्पी स्किन रोग देशव्यापी फैलिएको र ठुलोमात्रामा पशुबस्तुहरुको क्षति भएको अवस्थामा यो रोगको महामारी घोषणा गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनस्र्थापना गरि रोगबाट मृत्यूभएका पशुहरुको बीमा भूक्तानी अभिलम्ब गरियोस् । बिमित किसानहरुको भुक्तानी नदिने, आलटाल गरी किसानलाई दुःख दिने र पशुधन बीमा नविकरण नगर्ने कम्पनीलाई यथासिघ्र कारवाहीको दायरामा ल्याई कानून बमोजिम कारबाही गर्नकालागि माग गर्दछौं ।
३. रासायनीक मलको आपूर्तिमा भएको अभावको तत्काल अन्त्य गरी गुणस्तरिय मल समयमै सहज ढंगले उपलब्ध गराइयोस् ।
किसानका उपरोक्त मागहरु पूरा गर्न गराउन पटकपटक सम्वन्धित निकाय र पदाधिकारीहरुलाई अनुरोध र आग्रह गर्दा पनि सुनवाई भएको अवस्था छैन । अतः किसानका जायज मागहरु पूरा गर्न गराउन आम किसान परिचालित गर्ने राष्ट्रिय किसान सञ्जालको निष्कर्ष रहेको छ । यस आन्दोलनमा सहभागि भई नेपाली किसानको हक हित र अधिकार रक्षाका लागि एक्येवद्धता जनाउन आम न्यायप्रेमी किसान दाजुभाइ तथा दिदीबहिनी र आम उपभोक्तालाई राष्ट्रिय किसान सञ्जाल हार्दिक अपिल गर्दछ ।
आन्दोलनका कार्यक्रम
प्रथम चरण
१.यहि मिति २०८० साउन ८ गते देखि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यालय अगाडि निरन्तर धर्ना दिने ।
दोस्रो चरणको आन्दोलनको कार्यक्रम पछि घोषणा गरिनेछ ।
राष्ट्रिय किसान सञ्जालमा आवद्ध किसान संघ संगठनहरुः
१. अखिल नेपाल किसान महासंघ
२. नेपाल किसान महासंघ
३. राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन
४. नेपाल जनता समाजवादी किसान महासंघ
५. नेपाल पिछडावर्ग किसान संघ
६. सामुदायिक वन उपभोक्ता महासंघ
७. राष्ट्रिय कृषक समुह महासंघः सचिब
८. राष्ट्रिय सिंचाई जलउपभोक्ता महासंघ
९. राष्ट्रिय भूमि अधिकार मञ्च
१०. फियान नेपाल