भारतले लगायो चामल निर्यातमा प्रतिबन्ध

२०८० श्रावण ६ गते प्रकाशित

काठमाडौं। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो।

निर्यात नीतिअनुरूप गैरबासमती सेतो चामल स्वतन्त्र निर्यात गर्न प्रतिबन्ध गरिएको महानिर्देशनालयको सूचनामा छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाललगायत मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९।८० को ११ महिनामा नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो चामल आयात गरेको थियो।