भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा

२०८० श्रावण ११ गते प्रकाशित

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् ।

प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन् । प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिने तालिम प्रदान गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।

तालिमका क्रममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए । “नेपालमा मात्रै पाइने काँडे भ्याकुर भैँसेगैँडामा पर्याप्त पाइन्छन्”, उनले भने, “चाइना मङ्गोलियाबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागि यो महत्वपूर्ण गन्तव्य हो ।”

तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहश्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरण सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्य बन्दै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए ।

यस क्षेत्रमा काँडे भ्याकुरदेखि धेरै प्रजातिका चरा, वन्यजन्तु र वनस्पति पाइने भएकाले पर्यावरणीय अध्ययन तथा अनुसन्धानका लागि यो स्थल महत्वपूर्ण रहेको उनको भनाइ छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गुरुङले बताए। उनका अनुसार होमस्टेमा २० जनासम्म पर्यटक अटाउँछन् ।

अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनका लागि पनि भैँसेगौँडा पुग्नैपर्ने गन्तव्य भएको बताउँदै गुरुङले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको बताए । गाउँको विकासका लागि सामूहिक प्रयासमा मेकाडामिया नटको खेतीसमेत गरेको भन्दै उहाँले स्थानीय उत्पादनमा जोड दिइएको बताए।