देशभर ७७ प्रतिशत रोपाइँ सकियो

२०८० श्रावण १५ गते प्रकाशित

काठमाडौं । देशभर ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, साउन १२ गतेसम्म कुल धान रोपाइँ हुने भू–भागमध्ये ७७ प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको हो ।

गत वर्षको यही अवधिमा ९० प्रतिशत भू–भागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको हो । नेपालमा कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । जसमध्ये १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रुपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमा धान रोपाइँ हुने ९९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । गत वर्ष पनि १२ साउनसम्म सुदूपश्चिममा ९९ प्रतिशत नै धान रोपाइँ सकिएको थियो ।

कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा धान रोपाइँ बढेको छ । गत वर्ष धान रोपाइँ हुने क्षेत्रमध्ये १२ साउनसम्म ७८ प्रतिशत मात्रै रोपाइँ भएकोमा यो वर्ष १२ साउनसम्म ८५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा पनि ८१ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष १२ साउनसम्म ८५ प्रतिशत धान रोपाइँ भएको थियो ।