काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड(सीडीक्यान) ले दूग्ध उत्पादक किसानले भोग्नुपरेका समस्या समाधान नगरे सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
संघले आइतबार विज्ञप्ती जारी गर्दै दूग्ध उत्पादनका क्षेत्रमा किसानले भोग्नुपरेका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । बजेट तथा नीति कार्यक्रममा कृषि र पशुपालनसँग सम्बन्धित २० वटा महत्वपूर्ण कार्यालयहरु खरेजी तथा अन्य निकायमा गाभ्ने सरकारको निर्णय सच्याउन तथा निर्णय फिर्ता लिन माग गरेको छ ।
खासगरी, संघले दुग्ध विकास बोर्डको खारेजी तुरुन्त फिर्ता लिनुपर्ने, सीमा नाकामा रहेका पशु क्वारेन्टाइन कार्यालय, पशु तथा कृषिका केन्द्रीय प्रयोगशाला खारेजी गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने, लम्पी स्किन रोगबाट किसानले ठुलो क्षति भोग्नुपरीरहेको छ यसको रोकथाममा आवश्यक उपचार र नेक्सानी भएका पशुको क्षतिपूर्ति तुरुन्त उपलब्ध गराइनुपर्ने र मिल्क होलिडेको अन्त्य गरी पशुपालन पेसालाई सुनिश्चित र व्यवसायिक रुपमा अगाडी बढाउने कार्यक्रम ल्याउनुपर्ने संघले माग गरेको छ ।
त्यस्तै, किसानले खाइपाई आएको मूल्यमा कुनै पनि बाहानामा घटाउन पाइदैन र उद्योगले यो भन्दा अघिको सम्झौता अनुसार खरीद गरीरहेको दूध कुनै पनि बाहनामा कटौती गर्न नहुने, दूधको उत्पादन लागत कम गरि विदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्ने अवस्था सृजना गर्नुपर्ने प्रत्यक्ष किसानले प्राप्त गर्ने गरि उत्पादनका आधारमा अनुदानका कार्यक्रम घोषणा गर्नुपर्ने, विदेशबाट आउने जुनसुकै कच्चा दुध तथा दुग्धजन्य पदार्थ पूर्ण रुपले बन्द गर्नुपर्ने र सहकारीको माध्यमबाट पशुधन संरक्षण कार्यक्रम लागु गर्नुपर्नेलगायतका माग राखेको छ ।
उल्लेखित मागहरु सम्बोधन नभए आउँदो साउन २८ गतेदेखि संघले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
तपसिल
१. मिति २०८० श्रावण २८ गते सबै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने विहान ११ः३० बजे गर्ने ।
२. मिति २०८० श्रावण ३० गते काठमाडौंको मन्त्री क्वाटर पुल्चोकमा ब्यानर कार्ड सहित प्रदर्शनी विहान ९ बजे देखि गर्ने ।
३. मिति २०८० श्रावण ३१ गते विहान ९ बजे देखि बालुवाटार घेराउ गरी धर्ना बस्ने ।
४. माग पुरा नभएमा मिति २०८० श्रावण ३२ गते पत्रकार सम्मेलन गरी थप आन्दोलनका कायक्रम घोषणा गरिनेछ ।