राष्ट्रिय सुन्ताला जात अनुसन्धान कार्यक्रम : तेइस वर्षमा छ अनुसन्धान

२०८० श्रावण २६ गते प्रकाशित

धनकुटा – नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय सुन्ताला जात अनुसन्धान कार्यक्रम धनकुटाले छवटा अमिलो जातको अनुसन्धान पूरा गरेको छ । सम्पूर्ण अमिलो फलफूलको अनुसन्धान सुरुआत गरेको २३ वर्षमो ती अनुसन्धान पूरा गरेको हो

विसं २०१८ मा धनकुटा नगरपालिकाको वडा नं १० पारिपात्लेमा सुन्तला बाली अनुसनधान केन्द्रका रूपमा स्थापित सो केन्द्रलाई २०५७ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो । केन्द्रले हालसम्म तीन ÷तीन सुन्तला र कागतीको अनुसन्धान पूरा गरेर खेतीका लागि सिफारिस गरेको कार्यालयका प्रमुख डा उमेश आचार्यले जानकारी दिए ।

यी सुन्तला र कागती यसअघि नै किसानले पारम्परिकरूपमा व्यावसायिक खेती गर्दै आए पनि विभिन्न अनुसन्धानपछि अनुसन्धानले आधिकारिकरूपमा भौगालिक आधार तोकेर खेतीका लागि सिफारिस गरेको हो । सिफारिस गरिएका जातको व्यावसायिक खेती गर्दा बैंकिङ कर्जा, बाली बीमा, अनुदानजस्ता सेवा–सुविधा लिन किसानलाई सहज हुने उनले जानकारी दिए ।

कार्यालयले विसं २०७२ मा एक सय मिटरदेखि एक हजार मिटर उचाइसम्म तराई क्षेत्रका लागि ‘सुन कागती १’ र ‘सुन कागती २’ को अनुसन्धान पूरा गरेको थियो । त्यस्तै कार्यालयले विसं २०७५ मा एक हजारदेखि एक हजार छ सय मिटर उचाइसम्मका लागि ‘तेह्रथुम स्थानीय’ कागतीको अनुसन्धान पूरा गरेको थियो ।

यसै वर्ष सोही उचाइका लागि खोकू सुन्तलाको अनुसन्धान पूरा गरेको कार्यालयले गत वर्ष यसै उचाइमा खेती गर्न गण्डकी प्रदेशका लागि ‘बाँस खर्क स्थानीय’ सुन्तलाको अनुसन्धान पूरा गरेको छ । त्यस्तै यो वर्ष कार्यालयले आठ सयदेखि एक हजार चार सय मिटरसम्म खेती गर्नका लागि पात्ले अगौटे जात सुन्तलाको अनसुन्धान पूरा गरेको छ ।

निकट भविष्यमा नै सिन्धली र रामेछाप जिल्लाका लागि नौ सयदेखि एक हजार पाँच सय मिटरसम्म खेतीका लागि ‘सिन्धुली स्थानीय’ जुनार जातको सिफारिस गर्न लागिएको डा आचार्यले जानकारी दिए ।

देश सङ्घीयतामा गएसँगै विसं २०७५ पछि नीतिगत समस्याका कारण अनुसन्धानको कर्मचारी दरबन्दी परिपूर्ति हुन नसक्दा अनुसन्धान प्रभावित भएको उनले जानकारी दिए । “सैतीस जनाको दरबन्दीमा छजनाले काम गर्नुपर्दा कार्यक्रम प्रभावित भएको छ”, उनले भने, “१३ जनाको प्राविधिक टोलीमा म एक्लो छु, अफिसमा बस्नु कि किसान कहाँ जानु

आवश्यकतानुसारको सबै दरबन्दी भएको भए हालसम्म १५ देखि १७ जातसम्मको अमिलो फलफूलको अनुसन्धान सकिने उनको भनाइ थियो । चार सय रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रले हाल एक सय ५४ जातको अमिलो फलफूलको अनुसन्धान गर्ने क्रममा रहेको छ ।