स्याऊ खेतीमा मुस्ताङका आङ्ग्या गुरुङको सफलताः १५ लाखबाट थालेको लगानी २ करोड पुग्यो

२०८० भाद्र ६ गते प्रकाशित

काठमाडौं । मुस्ताङको बाराजुम मुक्तिक्षेत्र गाउँपालिका–४ का आङ्ग्या गुरुङले विगत ७÷८ वर्षदेखि व्यवसायिक रुपमा स्याउ र पशुपालन गर्दै आएका छन । खासगरी, उनले मुस्ताङको स्थानीय जातको स्याउको व्यवसायिक उत्पादन गर्दै आएका छन् ।

२०७३ सालदेखि स्याउ खेती सुरु गरेका उनी अहिले सफल किसानको रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन् । सुरुमा उनले आफ्नै जग्गामा केही स्याउका बोट ल्याएर लगाए ।

नवाङ हिसी कृषि तथा पशुपंक्षी अग्र्यानिक फर्म दर्ता गरी उनले व्यवसायिक रुपमा स्याउ र पशुपालन गरिरहेका छन् । त्यसपछि बोटहरु थप्दै जाँदा अहिले उनको फर्ममा ९ सय बढी स्याउका बोट छन् । स्याउले बर्षेनी आम्दानी दिने गरेको छ । उनले सुरुमा स्याउका विरुवालगायतमा गरेर १५ लाख लगानी गरेका थिए । अहिले स्याउ फर्ममा मात्रै २ करोडभन्दा बढी लगानी भइसकेको उनले कृषिपानालाई बताए ।

उनीजस्तै किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत(स्याउ जोन) मुस्ताङले स्याउका विरुवामा ५० प्रतिशत अनुदान दिँदै आएको छ । गुरुङले पनि स्याउका बोट र लगानी विस्तार गर्नुमा परियोजनाले ठूलो सहयोग गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७५।०७६ देखि स्याउ जोन लागू भएपछि गुरुङले स्याउका विरुवा, पावर स्प्रे, घाँस काट्ने मेसिन, मिनि ट्याक्टर, किटाणु माने विषादी, सिँचाइ कुलो निर्माणलगायतमा अनुदान सहयोग पाएको बताए ।

‘स्याउ जोन कार्यक्रमबाट मैले ६३० बोट स्याउका विरुवा ५० प्रतिशत अनुदानमा पाएँ ।’ उनले भने, ‘त्यस्तै, पावर स्प्रे, मिनि ट्याक्टर, किटाणु मार्ने औषधी र सिँचाइ कुलो निर्माणमा पनि ५० प्रतिशत अनुदान पाएँ ।’ सिँचाइ कुलो निर्माण मात्र लागि ३ लाख ५० हजार रुपैयाँ अनुदान पाएको उनको भनाई छ ।

स्याउका विरुवा निकै महंगो पर्ने गरेको उनी बताउँछन । प्रतिबोट नै ११०० देखि १२०० पर्ने हुँदा स्याउ जोनका अनुदानले किसानलाई ठूलो सहयोग पुगेको उनी बताउँछन् । ‘किसानले यसरी स्याउ रोप्ने नै थिएनन। किनकी स्याउको बोट नै ११÷१२ सय पर्छ’ उनले भने, ‘स्याउ जोनले ५० प्रतिशत अनुदान दिँदा किसानले सजिलै स्याऊका विरुवा लगाउने पाएका छन ।’

उत्पादित स्याउ बिक्रिका लागि समस्या नरहेको गुरुङ बताउँछन् । स्याउ खरिद गर्न व्यापारीहरु उनको स्याउ बगैँचामै पुग्ने गरेका छन् । कतिपयलाई उनले किलो, कार्टुनमै बेच्ने गर्छन भने केही व्यापारीले बगैँचाबाट नै उठाउने गरेको उनी बताउँछन् ।
स्याउ बिक्रिबाट उनले वार्षिक रुपमा १३ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । तर, हरेक वर्ष स्याउका बोट बढेअनुसार त्यसको आम्दानी बढ्दै जाने उनको भनाई छ ।

स्याउसँगै उनले बाख्रापालनबाट पनि राम्रो आम्दानी गर्न सफल भएका छन् । अहिले उनको फर्ममा ४०० वटा बाख्राहरु छन । २०७८।०७९ देखि सुरु भएको बाख्रा/च्याङ्ग्रा जोन कार्यक्रमबाट पनि उनले अनुदान पाएका छन् ।

गत वर्ष जोन कार्यक्रमबाट उनले बाख्राको खोर निर्माणलगायतमा ३ लाख रुपैयाँ अनुदान पाएका थिए । भविष्यमा बाख्रापालनलाई थप विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।