अलैँचीको डाँठबाट हस्तकलाका सामान बनाउने माया गुरुङ, वार्षिक २५ लाखसम्म आम्दानी गर्छिन

२०८० भाद्र १० गते प्रकाशित

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ की माया गुरुङ दश वर्ष अघि एसएनडी नेपाल नामक अन्र्तराष्ट्रिय गैरसरकारी संस्था(आइएनजीओ)मा जागिरे थिइन् ।

जागिर गर्दा गर्दा उनले सिलाइ बुनाइसम्वन्धि तालिम लिइन । त्यतिबेला नै उनमा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोच थियो । फलस्वरुप, उनले वि.सं २०६८ सालमा चन्दन फाइबर उद्योग दर्ता गरेर हस्तकलाका सामान बनाउने व्यवसाय थालिन ।

आफ्नो गाउँ ठाउँमा खेर जाने अलैँचीको डाँठ(सरा) बाट हस्तकलाका विभिन्न प्रकारका सामानहरु बनाएर बेच्न थालिन । खेर जाने गरेको अलैँचीको डाँठलाई नै उनले आम्दानीको गतिलो स्रोत बनाउन सफल भएकी छन् ।

अलैँचीको खेर जाने डाँठबाट हस्तकलाका सामान बनाउने सोचसहित यो पेशामा जोडिएको उनी बताउँछिन । ‘अलैँचीका दाना निकाले बोट त्यतिकै फ्याक्ने गरिन्थ्यो, मल पनि नहुने र गाईवस्तुले समेत नखाने भएर खेर जाने हुन्थ्यो, यसले के चाहिँ बन्छ भनेर सोच्दै गर्दा हस्तकला क्षेत्रमा प्रवेश गरँे।’ गुरुङले बताइन। अलैँचीको डाँठबाट उनले चकटीलगायत हाल ५० प्रकारमा हस्तकलाका सामानमा बनाउँदै आएकी छन ।

खासगरी, उनले अलैँचीको सराको पिर्का, टी कोष्टर, हट म्याट, डक्की, मुडा, चकटी, टेबुल रनर, ब्याग, फाइल ब्याग, पर्सलगायतका वस्तु बनाएर बेच्ने गरेकी छन । उनले यसको उत्पादनको क्रममा आफ्नै गाउँमा २० जनालाई रोजगार समेत दिएकी छन ।

उनले यसबाट बनेको सामग्री १०/१५ वर्षसम्म चलाउन सकिने र यो हत्तपत्त नमकिने गरेको बताइन् । यसको कलर समेत अन्य सामग्रीको जस्तो डिस्कलर भएर नजाने उनले बताइन् ।

वार्षिक २५ लाख आम्दानी

सुरूमा १ लाख ५० हजार रुपैयाँ लगानी गरेर आफ्नो हस्तकलाका सामान उत्पादन गर्न थालिन । त्यसपछि उनी फर्किनु परेन । हस्तकलाकै सामान बेचेर उनले वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन । उनले किसानहरूबाट अलैँचीका सरा किन्ने गरेकी छन् । उनले किसानबाट ४० रुपैयाँ केजीमा अलैँचीको सरा किन्ने गरेको बताइन् ।

भदौदेखि कात्तिक महिनासम्म अलैँची उत्पादन हुने समय भएकाले सोही समयमा उनले अलैँचीका सरा किन्ने गर्छिन । अलैँचीका सरा काँचै किन्ने गर्दा ४ वटा अलैँचीको सराले केजी पुग्ने गर्छ । सुकेको अलैँचीको सरा १५०० रुपैयाँ प्रतिकेजीसम्म पर्ने गरेको उनले बताइन् ।

अलैँची जोन कार्यक्रमबाट अनुदान

उनको हस्तकलाक्षेत्रको लगाब र मेहनतलाई देखेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(पीएमएमपी) अन्र्तगतको अलैँची जोन कार्यक्रमले उनलाई सहयोग गरेको छ । गत आर्थिक वर्ष २०७८।०७९ मा पीएमएमपीले प्रशोधन उद्योग स्थापनामा सहयोग गरेको हो । करिब १० लाख रुपैयाँ लागत मूल्य पर्ने प्रशोधन गर्ने उपकरण उनले ५० प्रतिशत(५ लाख रुपैँया) अनुदानमा पाएकी छन् । सरकारले अनुदानबापत सहयोग गरेपछि पेशाप्रति थप आत्मबल बढेको उनको भनाइ छ ।

बजारको छैन चिन्ता

अलैँचीको सरा किनेर सुकाएर गाउँकै महिलाहरूलाई रोजगार दिँदै उनले यसलाई जिल्लादेखि काठमाडौंका बजारसम्म पुर्याएकी छन् । बजारमा पाइने अलैँचीबाट बनेका सराको हस्तकलाहरूको मूल्य ७५ रुपैयाँदेखि ४५ सय रुपैयाँसम्म पर्ने गरेको छ । हस्तकला सामान बिक्रिका लागि बजारको त्यति ठूलो समस्या नभएको उनको बुझाइ छ । तर, हस्तकलाका सामान बिक्रि र प्रयोगका बारेमा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन ।

उनले अलैँचीको सराबाट बनेका यस्ता हस्तकला सामग्रीहरू वार्षिक २ हजार पिस हाराहारीमा उत्पादन गर्ने गरेको बताइन् ।