काठमाडौं । उत्तरी तातोपानी आज शुक्रबारदेखि खुला गरिएको छ । झन्डै आठ वर्षपछि उत्तरी छिमेकी चीन जोड्ने नाका सर्वसाधारणका लागि खुला गरिएको हो ।
शुक्रबार भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।
अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् ।
खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।