काठमाडौं– मुक्तिनाथ कृषि कम्पनीले आफ्नो ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अघि बढाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले ५ वर्षे रणनीतिक योजनाअनुसार ५ वटा कृषि संरचनाहरुको उद्घाटन समेत गरेको हो ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मिन बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता र कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा ५ ओटा कृषि संरचनाहरुको उद्घाटन गरेको हो । उद्घाटन समारोहको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले गरेका थिए ।
कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना “भिजन २०८५” अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले निम्नानुसारका ५ वटा कृषि संरचनाहरुको डिजिटल रुपमा समुद्घाटन गरिएको छ ।
१. इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित “प्रादेशिक कार्यालयहरु”
२. स्याङजा र चितवनमा अवस्थित “फार्म उत्कृष्टता केन्द्र”
३. कृषिमा लगानी प्रवद्र्धनका लागि “कृषि व्यवसाय परामर्श केन्द्र”
४. कृषकहरुलाई दैनिक सेवाको लागि “कृषकसंग मुक्तिनाथ कल सेन्टर”
५. आर्टिफिसियल इन्टेलिजेन्समा आधारित “मुक्तिनाथ एप”
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कृषि तथा पशुपन्छि विकास मन्त्री डा.वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाईलगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिन बहादुर श्रेष्ठज्यूले सोह्रो पंचवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए ।
त्यस्तै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य श्रृंखला व्यवस्थापनमा गरिरहेका कार्यहरु र कम्पनीका स्पष्ट भावि योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक नीजि साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषिजस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमातहत एकिकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए।
सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसँग कोदोजन्य बालि वर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामी दिनमा कुटनीतिक नियोग, सरहकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा, कृषि क्षेत्रको प्रमुख समस्याहरु, कम्पनीको गतिविधिहरु, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावि संभावनाहरुको सम्बन्धमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन सुगारीका केसीले गरेकी थिइन ।