रासायनिक मल कारखाना खोल्न मलेसियन कम्पनीसँग सम्झौता, साढे ३४ अर्बभन्दा बढी लागत अनुमान

२०८० आश्विन १० गते प्रकाशित

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना खोल्न सरकारले मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । रासायनिक मल कारखाना खोल्ने विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गरे। लगानीको बोर्डको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको जनाएको हो ।

सम्झौताअनुसार रि–निकोला ले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ । रि–निकोला मलेसियाको कम्पनी हो ।

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ ।

करिब २६ करोड अमेरिकी डलर अनुमानित लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन ग्रीन एमोनिया र दुई लाख ८६ हजार नौ सय ७५ मेट्रिक टन क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन हुने प्रस्ताव गरिएको छ ।

सार्वजनिक–निजी साझेदारी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रि–निकोलाले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि २०७९ पुस २४ गते लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो ।

हेर्नुस, लगानी बोर्डको विज्ञप्ती