काठमाडौं। नेपाल वेयरहाउजिङ कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले हिमालयन क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धक्त्वमा सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता साधारण शेयर अंकित मूल्य रु १०० का दरमा प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ) निष्कासन गर्ने भएको हो।
आइपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०८० असोज १० मा स्वीकृति प्राप्त गरिसकेको छ। पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्ने जनाएको छ।
यस कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेको छ र सो समेत आउँदो पौष महिना सम्ममा सञ्चालनमा आउने तयारी छ।
यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारणगृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेको छ।