किसानको दूध हुँदाहुँदै बाहिरबाट ल्याउन रोकेको हुँ – कृषिमन्त्री

२०८० आश्विन २९ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमै किसानले उत्पादन गरेको दूध पर्याप्त हुँदा हुँदै आयात नगर्न आफुले निर्देशन दिएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वदेशी किसानको दूधलाई वेवास्ता गर्दै आयात खोल्नुहुँदैन भनेर आफुले निर्देशन दिएको बताएका हुन् ।

उनले भने, ‘स्वदेशमै किसानले उत्पादन गरेको दूधले बजार पाएको छैन् । अझ बाहिरबाट आयात गरियो भने झन किसानको दूध बिक्रि नहुने अवस्था आउने देखेर मैले बाहिरबाट ल्याउन पाइदैन् भनेर भनेको हुँ ।’

उनले स्वदेशी दूग्ध किसानको हितका लागि आफुले यो निर्णय लिएको बताए । सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डीडीसी) र निजीक्षेत्रका विभिन्न डेरी उद्योगले बाहिरबाट दूध आयात गर्न दिनुपर्ने निरन्तर दबाब दिएका थिए ।

तर, आफुले उनीहरुको मागअनुसार दूधको आयात खोल्न नहुने प्रष्ट पारेको उनले बताए । सो अवसरमा मन्त्री भुसालले दूग्ध किसानको बाँकी बक्यौता भुक्तानी गर्न निजी डेरी उद्योग र डीडीसीलाई निर्देशन समेत दिएको बताए ।

कम्तीमा एक महिनाबढीको भुक्तानी बाँकी नराखी सबै भुक्तानी गर्न समेत आफुले निर्देशन दिएको बताए । अहिले डीडीसीले दूग्ध किसानलाई झन्डै ५२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यता, निजीक्षेत्रका डेरी उद्योगीले भने किसानको झन्डै ६ अर्ब रुपैयाँ बक्यौता अहिलेसम्म भुक्तानी गरेका छैनन् । दूग्धजन्य पदार्थ स्टक भरिएको र बिक्रि नभएको भन्दै भुक्तानी दिन निजी डेरी उद्योगहरुले आनाकानी गर्दै आएका छन् ।