साढे १५ लाख पशुमा लम्पी स्कीन संक्रमण, ६५ हजार मरे

२०८० आश्विन २९ गते प्रकाशित

काठमाडौं । पशु चौपायाँमा देखा पर्ने लम्पी स्कीन रोग हालसम्म साढे १५ लाख चौपायामा संक्रमण भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार, लम्पी स्कीन रोगका कारण देशभर ६५ हजारको संख्यामा पशुचौपायामा मरेका छन् ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका अवसरमा विभागका महानिर्देशक डा. उमेश दाहालले हालसम्म १४ लाख संक्रमित चौपाया निको भएको विवरण प्रस्तुत गरे ।

उनले अझै पनि १७ हजार पशु चौपायामा लम्पी स्कीन संक्रमण देखिएको बताए । लम्पी स्कीन रोग नियन्त्रणमा आउने अवस्थामा रहेको बताउँदै उनले भने, ‘लम्पी स्कीन संक्रमण नियन्त्रण गर्न खोप खरिद गर्ने प्रक्रियामा छौं । कतिपय खोप परिक्षण गरिसकेका छौं ।’

त्यस्तै, बंगुर र सुँगुरमा देखा पर्ने अफ्रिकन स्वायन फिभर रोगको सक्रमणले पनि किसानले क्षति पुर्याएको उल्लेख गरे । उनले पशु चौपायामा हुने क्षतिको राहत भन्दा पनि दीर्घकालीन समाधान पहिल्याएर विभागले त्यसअनुसार काम गरिरहेको बताए ।
अर्को वर्ष पनि लम्पी स्कीन र स्वायन फिभरजस्ता रोग लागेर भयावह हुने स्थिति दोहोरिन नदिन र दिर्घकालीन रुपमा समाधान खोजेर अघि बढेको बताए ।

त्यसका लागि खोप खरिद गर्ने र नेपालमै खोप उत्पादन गर्न सकिने सम्भावनाका बारेमा पनि प्रारम्भिक छलफल भइरहेको बताए ।