काठमार्डौँ । आज मंगलवारदेखि ललितपुरको जावलाखेलमा १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० मेला सुरु भएको छ ।
नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) को आयोजनामा १६ औ सस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी सुरु भएको हो ।
‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १४ देखि १८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा व्यवसायिक स्टल ५१, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५७ वटा प्रदर्शनी कक्षहरु राखिएको छ । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।
अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी÷फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छ । सबै कार्यको लागि तयारी पुरा भएको उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।
यस प्रदर्शनीको सह–आयोजक संस्थाको रुपमा पुष्प बिकास केन्द्र रहेको छ । साथै सहयोगी संस्थाको रुपमा कृषि पुर्वधार बिकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्र, प्रायोजक संस्थाको रुपमा सेवा कोकोपिट र बैंकिङ साझेदार संस्थाको रुपमा कृषि बिकास बैंक रहने भएको छ । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने कार्यक्रम छ। प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ठ हुने नर्सरी÷फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।
मेलामा नेपालमा बिगत बर्ष देखि नै व्यवसायीक उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन ।
गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष मीन बहादुर तामाङले बताए ।
मेलाको थप आकर्षणहरुमा यस बर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नंम्बरको आधारमा साहश्र दिन बेलूकी लक्की ड्र गरी बिजेता हुन सफल एक जना मेला अवलोकन कर्ताहरुलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने भएको छ। ।
मेला अवधीभर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शुन्य मौज्दातमा खाता खोली रु.३००।– खातावालाको नाममा कृषि विकास बैंक लि.ले जम्मा गरि दिनेछ । साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसूकै फूल बिरुवा खरिदमा १० प्रतिशत छुट को व्यवस्था पनि मिलाइएको जनाइएको छ ।
यता, नर्सरी व्यवसायी संघले पनि आजबाट नै तिहारको उत्सव, फुलको महोत्सव भन्ने मूल नाराका साथ भृकुटीमण्डप प्रदर्शनीस्थलमा मेला सुरु गरेको छ ।