काठमाडौं । कफी क्षेत्रको प्रवद्र्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन भन्ने नाराका साथ १९औँ राष्ट्रिय कफी दिवस मनाइएको छ । कफी उत्पादक किसान, स्टेट, प्रशोधक, बिक्रेता, कफी उपभोक्ता र कफीप्रेमीको उत्सवका रूपमा रहेको राष्ट्रिय कफी दिवस राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन भएको हो ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १२ करोड ७६ लाख बराबरको ७९ मेट्रिकटन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रुपैयाँ बराबरको ६९ मेट्रिकटनमात्रै निर्यात भएको छ । भन्सार विभागको आव २०७९/०८० को तथ्यांकअनुसार १३ करोड चार लाख बराबरको ७७.८६ मेट्रिकटन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको चार सय ५० मेट्रिकटन कफी आयात भएको थियो । आव २०७९/८० मा नेपालभर ३९४.४ मेट्रिकटन ग्रिन विन कफी उत्पादन भएको छ भने कुल उत्पादनको झण्डै २० प्रतिशत निर्यात भएको छ ।
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रभन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै दुई(तीन गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ ।
दैनिकरूपमा कफी सेवनकर्ताको माग बढ्नु र युवाको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाका कारण कफीको माग बढ्दै गइरहेकाले पनि आन्तरिक माग पूर्तिका लागि कफीको रोपण तथा उत्पादनमा जोड दिनुपर्ने बोर्डले जनाएको छ । समग्र कफी क्षेत्र प्रवद्र्धन र संरक्षण गर्दै कफी क्षेत्रमा युवा पुस्तालाई आकर्षण गरी सीमित क्षेत्रमा गरिँदै आएको कफी खेतीलाई कफी स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने बोर्डको भनाइ छ ।
१९आँै कफी दिवसका अवसरमा बोर्ड अध्यक्ष एवं कृषि तथा पशुपन्छी विकासमन्त्री डा। बेदुराम भुसालले शुभकामना सन्देशमार्फत् स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा निजी क्षेत्रलाई थप लगानी गर्न आहृवान गर्नुभएको छ । गत वर्षदेखि बोर्डले व्यावसायिक उत्पादनका लागि चक्लाबन्दीमा कफी क्षेत्र विस्तार र स्थानीय क्षेत्रभित्र व्यावसायिक नर्सरी बिरुवा उत्पादन कार्यक्रमलाई प्रमुखताका साथ अघि बढाएको छ । मन्त्रालयले बोर्डसँगको समन्वयमा कफी उत्पादन बढाउन धेरै स्थानीय पालिकामा बजेट विनियोजन गरेको छ, जसले गर्दा पनि स्थानीय सरकारलाई कफीको व्यावसायिक उत्पादन वृद्धिका लागि कार्यक्रम सञ्चालन गर्न प्रेरित गरेको बोर्डले जनाएको छ ।
कफी दिवसकै अवसरमा बोर्डले कफीको न्यूनतम मूल्य तोेकेको छ । मंसिर १ देखि लागू हुने गरी फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकेजी एक सय रुपैयाँ, ग्रेड ‘बी’ को प्रतिकेजी ९० रुपैयाँ, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी पाँच सय रुपैयाँ, ग्रेड ‘बी’ को प्रतिकेजी चार सय ५० रुपैयाँ रहेको छ । त्यस्तै ड्राई चेरी कफी ग्रेड ‘ए’ को प्रतिकेजी दुई सय रुपैयाँ र ग्रेड ‘बी’ को प्रतिकेजी एक सय ५० रुपैयाँ रहेको छ । हिमालय टाइम्स दैनिकबाट