गहुँ छर्ने सिजन सुरु, किसानले पाउँलान त सहजै रासायनिक मल ?

२०८० मंसिर ९ गते प्रकाशित

काठमाडौं । अहिले देशभरका किसानले धान भित्र्याएर गहुँ छर्ने तरखर गर्दैछन् । कात्तिक देखि मंसिरसम्म अधिकांश किसानले आफ्नो धानबाली भित्र्याउन भ्याइ नभ्याइ हुन्छ ।

यसवर्ष किसानले धान काटेर भित्र्याउने अन्तिम तयारीमा यतिबेला किसान जुटिरहेका छन् । कपितय किसानले त धान काटेर उठाइसकेकाले खेतमा गहुँ छर्ने तयारी गर्दैछन् ।

गहुँबालीका लागि डीएपी मल र युरिया मलको उत्तिकै खाँचो यतिबेला किसानलाई हुने गरेको छ । गहुँका लागि सबैभन्दा बढी डीएपी मलको आवश्यकता पर्ने गरेको छ ।

विगतका वर्षहरुमा जस्तो यसवर्ष रासायनिक मलको अभाव हुन्छ कि हुँदैन् । अथवा, गहुँ सिजनका लागि सरकारले रासायनिक मलको व्यवस्थापन कसरी गर्दैछ ? के गहुँ सिजनका लागि किसानले सहज रुपमै मल पाउँलान छ ? प्रश्न उठ्न थालेको छ ।

तर, सरकारी अधिकारीहरु भने गहुँ सिजनका लागि रासायनिक मलको कुनै अभाव नहुने बताउँछन् । विभिन्न सरोकारवालाहरुले रासायनिक मलको अभाव हुन सक्ने आंकलन गरिरहँदा यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने मल नियमित रुपमा आइरहेको बताउँछ ।

मन्त्रालयअन्र्तगतको मल खरिद र वितरण गर्ने निकाय कृषि सामग्री कम्पनीले भने गहुँ सिजनका लागि मलको अभाव नहुने बताउँछ । अहिले ४० हजार मेट्रिक टन डीएपी र ५० हजार टन युरिया मौज्दात रहेको कम्पनीका प्रवन्ध सञ्चालक बिष्णु पोखरेलले जानकारी दिए । बाँकी टेन्डरको मल केही दिनभित्र नेपालका लागि ढुवानी हुने उनले बताए ।

‘गहुँ सिजनका लागि हामीसँग करिब ४० हजार मेट्रिक टन डीएपी स्टक छ । बाँकी २० हजार टन आउने क्रममा छ । अहिले पनि मौज्दातको मल वितरण भइरहेकाले अहिले मलको अभाव छैन् ।’ उनले बताए । यता, साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै टेन्डरको मल आपूर्ति गर्न नसक्दा भने कतै गहुँ सिजनका बेला मल अभाव हुने हो कि भन्ने चिन्ता आम जनमानसमा परेको छ ।