मुक्तिनाथ कृषि कम्पनीको चलाखीः घाटामा जान थालेपछि सर्वसाधारणबाट पैसा उठाइँदै

२०८० मंसिर १० गते प्रकाशित

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड निरन्तर घाटामा जान थाले कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गरेको छ । विदेशमा भएका नेपाली र सर्वसाधारणका लागि सेयर दिएर पैसा उठाउने चलाखी कम्पनीले गरेको हो । कम्पनीले सर्वसाधारणका लागि भन्दै शुक्रबारदेखि कुल ११ लाख ४८ हजार कित्ता सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गरेको हो । यसअघि कम्पनीले कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि सेयर निष्कासन गरिसकेको छ ।
अंकित मूल्य १०० का दरले कम्पनीको आईपीओ सर्वसाधारणबाट खरिद गरेर पूँजी रकम उठाउने कम्पनीले प्रपन्च रचेको हो । मूख्य कम्पनी हुँदा हुँदै बढी नाफा देखेर एकैचोटी ८ वटा सहायक कम्पनी यसअघि नै खोलिसकिएको छ ।

यद्यपी, कम्पनी भने पछिल्ला वर्षहरुमा नाफामा भन्दा जगेडा कोष ऋणात्मक र कम्पनी घाटामा जान थालेको देखिन्छ ।

यसकारण घाटामा छ कम्पनी

केही वर्षअघि नाफा कमाएको कम्पनी पछिल्ला वर्षहरुमा भने नोक्सानीमा गएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ र आव २०७७/७८ मा नाफा कमाएको थियो । त्यसपछि भने कम्पनी निरन्तर घाटामा छ ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनी १० करोड नोक्सानीमा गएको थियो । अपरिस्कृत विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले जम्मा १ करोड ७२ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । कम्पनीको अपरिस्कृत विवरणअनुसार, कम्पनीको वित्तिय अवस्था यतिबेला निकै नै खुम्चिएको देखिन्छ । कम्पनीको जगेडा कोष करिब ५ करोड ऋणात्मक रहेको छ ।

घाटामा गएपछि सर्वसाधारणलाई सेयरको भार

कम्पनीको वासलात ऋणात्मक तथा कम्पनी घाटामा गए पछि सर्वसाधारणलाई सेयर दिएर रकम जुटाउने कम्पनीको योजना छ । कम्पनीले चलाखी के गरेको छ भने जब कम्पनी घाटामा जाने स्थिति देखियो । र, कम्पनीले ऋणात्मक वासतलात र घाटा पूर्ति गर्ने राम्रो अस्त्रको रुपमा सर्वसाधारणलाई सेयर दिएर रकम जुटाउने चलाखी अपनाएको छ । यसले मुलुक आर्थिक मन्दीका बेला सर्वसाधारणमाथि सेयरको भार थोपरेको छ ।

कमजोर व्यवस्थापकीय नेतृत्व

कम्पनीले समग्र कृषि मूल्य श्रृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्धेश्यअनुसार एकैचोटी ८ वटा सहायक कम्पनीको उद्घाटन गर्यो । चौथो वार्षिक समारोहका अवसरमा कम्पनीले बीउ, मल, नर्सरी, जडीबुटी, खाद्यान्न, एग्रो मेसिनरी, पशुपन्छी र ट्रेडिङ व्यवसायसँग सम्बन्धित ८ वटा सहायक कम्पनीहरुको उद्घाटन गरेको थियो ।

कम्पनी हुँदाहुँदै एकैचोटी ८ वटा सहायक कम्पनीको किन चाहियो ? यसको आवश्यकता के ? भन्ने प्रश्न उठिरहेको छ । तर, कम्पनीको व्यवस्थापकीय नेतृत्वले भने जवाफ दिँदैन् । रासायनिक मल र बीउ खरिद र आयातमा सहभागी हुने बाहनाले पनि कम्पनीले सहायक कम्पनी खोलेको कतिपयको बुझाइ छ ।

कमजोर व्यवस्थापकीय नेृत्वका कारण पछिल्ला वर्षहरुमा मुक्तिनाथ कृषि कम्पनीको वित्तिय अवस्था नाजुक बन्दै गइरहेको छ । कम्पनीका कार्यकारी अध्यक्षको जिम्मेवारीमा भरतराज ढकाल छन् । तर, कम्पनी घाटामा जान थालेपछि सर्वसाधारणलाई सेयरको भार बोकाउने र कम्पनी हुँदाहुँदै सहायक कम्पनी खोलेर अझ नाफा कमाउँछु भन्ने भूत उनमा चढेको देखिन्छ ।

कम्पनीले खासगरी, कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गर्दै आएको छ ।