काठमाडौं । यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगतको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालक पद रिक्त छ । सो पदका लागि मन्त्रालयले गत पुस २ गते कम्पनीको प्रवन्ध सञ्चालक पदका राजपत्रमा सुचना जारी गर्यो ।
उक्त सुचनाका आधारमा उक्त पदका लागि अहिलेसम्म ९ जनाले आवेदन दिएको मन्त्रालयल स्रोत बताउँछन् । आवेदन दिनेहरुमा कोही कृषि सामग्री कम्पनीकै बहालवाला कर्मचारीदेखि अन्य कर्मचारी छन् ।
खासगरी, हाल कृषि सामग्री कम्पनीको कामू प्रवन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पोखरेल, खरिद महाशाखाका प्रमुख राजेन्द्रबहादुर कार्की र कम्पनीका सुचना अधिकारी पुण्यप्रसाद उपाध्यायले समेत आवेदन दिएका छन् ।
त्यस्तै, चन्द्रप्रसाद चम्लागाँइ, डोलिन्द्रप्रसाद शर्मा, भोजराज अधिकारी, रामचन्द्र ढकाल, शैलेन्द्रकुमार सुमन र हरिवंश आचार्यले कम्पनीको प्रवन्ध सञ्चालक पदका लागि आवेदन दिएका हुन् । आवेदन दिनेमध्ये पोखरेल, कार्की र उपाध्याय कम्पनीकै बहालवाला कर्मचारी मात्र होइनन्, लामो समय काम गरेको अनुभव बटुलेका प्रशासक हुन् । कम्पनीको तल्लो युनिटदेखि कम्पनीको नेतृत्व र खरिद महाशाखामा विष्णु पोखरेलले लामो समय काम गरे ।
आवेदन दिनेमध्ये अन्यभन्दा बढुवा हुँदाको प्राप्तांक र अनुभवका आधारले पोखरेल एमडीका लागि उपयुक्त पात्र हुन सक्छन् । गत २०७९ चैत ३ गते कम्पनीको कामू प्रवन्ध सञ्चालकको जिम्मेवारीमा आएका पोखरेलले त्यसयता मल, बीऊ, र कम्पनीको भौतिक संरचनालाई व्यवस्थित रुपमा भाडामा लगाउनका लागि प्रयास गरेका थिए । अहिले कम्पनीले टेन्डर गरेको मल केही आइसकेको र बाँकी मल विभिन्न चरणमा पाइपलाईनमा रहेको छ ।
त्यस्तै, यसअघि कम्पनीको कायम मुकायम प्रवन्ध सञ्चालकको जिम्मेवारी पाएका राजेन्द्रबहादुर कार्की पनि उक्त पदका लागि अर्का उपयुक्त पात्रका रुपमा देखिएका छन् । कम्पनीको तल्लो युनिटदेखि कम्पनीको विभिन्न विभाग र महाशाखामा काम गरेको अनुभवन कार्कीसँग छ । कार्की हाल कम्पनीको खरिद महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।
त्यस्तै, कम्पनीको सुचना अधिकारीका रुपमा रहेका पुण्यप्रसाद उपाध्यायले पनि एमडी पदका लागि आवेदन दिएका छन् । उनी पनि लामो समय कम्पनीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका कर्मचारी हुन् ।
प्रवन्धक तथा अधिकृतमा प्रथम श्रेणीमा बढुवा भएका पोखरेलले ९३.६१६४ प्राप्तांक ल्याएका थिए । सोही पदमा बढुवा भएका राजेन्द्र बहादुर कार्कीले भने ८१.६७८१ प्राप्तांक ल्याए । बढुवाको सिफारीसमा पोखरेल कार्कीभन्दा अगाडी नै देखिन्छन् ।
उपाध्याय भने उप प्रवन्धक वा अधिकृत द्धितिय श्रेणीमा बढु्वा भएका थिए । उनले ९३.६१६४ प्राप्तांक ल्याएका थिए । उपाध्यायको तुलनामा पोखरेल र कार्की नै नयाँ एमडीका लागि बलिया दाबेदार हुन सक्ने देखिन्छ ।
त्यसमा पनि बढुवा सिफारीस, कार्यदक्षता र अनुभवका आधारमा दुवैजना उत्तिकै उपयुक्त पात्र हुन् । यी बाहेक एमडी पदका लागि केही नयाँ नामहरु पनि आएका छन् ।
जसमध्ये भोजराज अधिकारी, हरिबंश आचार्य, डोलिन्द्रप्रसाद शर्मालगायतले पनि आवेदन दिएका छन् । अधिकारीले त उता नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा पनि आवेदन दिएको बुझिएको छ ।
कृषितर्फको सचिव गोविन्दप्रसाद शर्माको गृहजिल्ला बागलुङ भएकै नाताले डोलिन्द्रप्रसाद शर्माले उक्त पदका लागि आवेदन दिएका छन् । शर्मा पनि बागलुङकै हुन् । आवेदन दिएकामध्ये उत्कृष्ट ३ जना छनौट गरेपछि सिफारीस समितिले एकजनालाई प्रवन्ध सञ्चालक पदमा नियुक्त गर्नेछ ।
स्वच्छ छवि, अनुभवी, उत्कृष्ठ कार्यदक्षता भएको कर्मचारीलाई कम्पनीको आगामी नेतृत्व दिनुपर्छ । हरेक वर्ष किसानले मल, बीउ नपाउने अवस्थाको अन्त्य गर्न सक्ने खुबी भएको योग्य प्रशासक कम्पनीले खोजिरहेको छ ।