निर्देशनमा मात्र भुलेका कृषिमन्त्री, निर्देशन नटेर्ने कर्मचारी उस्तै !

२०८० माघ २५ गते प्रकाशित

काठमाडौं । केही दिन अघि कृषिमन्त्री डा. बेदुराम भुसाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका हाकिम र कर्मचारीप्रति ‘फायर’ भए । कारण, तीन पटकसम्म मोबाइल ल्याब भ्यान सञ्चालन गर्न निर्देशन दिए पनि अटेरी गरेकोप्रति मन्त्री भुसाल कडा रुपमा प्रस्तुत भएका थिए ।

उनले विभागको चौमासिक प्रगति समिक्षा कार्यक्रममा मन्त्री भुसालले आफुले तीन पटकसम्म मोइबाल ल्याब भ्यान सञ्चालन गर्न निर्देशन दिए पनि कर्मचारी अटेरी गरेको कुरा सार्वजनिक रुपमै बोले । उक्त कार्यक्रममा मन्त्री भुसालले भनेका थिए, ‘तेस्रो पटक भन्दै छु, मोबाइल भ्यान तत्काल सञ्चालन गर्नुस् । यो भ्यान कुनै पनि तरिकाले सञ्चालन गर्नुपर्ने छ । चलाउन नसके हात उठाऔं, अर्को व्यवस्था हुन्छ्, नत्र जसरी हुन्छ चलाउऔं । राम्रो काम गर्दा चुनौती आए सामना गर्न तयार हुनुपर्छ, डराउन पर्दैन् ।’
मन्त्री भुसालले तीन पटकसम्म निर्देशन दिँदासमेत विभागले मोबाइल ल्याब भ्यान सञ्चालन गर्न चासो नदेखाएको स्वंयम मन्त्रीको भनाइबाट पुष्टि हुन्छ । विभागको महानिर्देशकमा मतिना बैद्य जोशी आसिन छिन् । निर्देशन पालना नगरेको प्रति मन्त्रीको आक्रोश उनै जोशीमाथि थियो ।

सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका चार वर्षअघि किनेको तीनवटा मोबाइल भ्यान प्रयोगविहीन छन् । बेला बेला ती मोबाइल ल्याब भ्यान सञ्चालन गर्नुपर्ने आवाज उठे पनि विभागले भने मोबाइल ल्याब सञ्चालनका लागि चासो देखाएको छैन् ।

अर्को अर्थमा मन्त्रीको निर्देशन अटेरी गर्ने कर्मचारी पनि उस्तै हुन् । यति मात्र होइन, गएको दशैंताका मन्त्री भुसालले पत्रकार सम्मेलन आयोजना गर्दै एक महिनाभित्र किसानलाई दूधको बाँकी बक्यौता उपलव्ध गराउन दूग्ध विकास संस्थान(डीडीसी) र निजी डेरी उद्योगीलाई निर्देशन दिए ।

तर, अहिलेसम्म पनि डीडीसी र निजि डेरी उद्योगीले किसानको सम्पूर्ण बक्यौता भुक्तान गर्न सकिरहेका छैनन् । बरु, डीडीसीका तत्कालीन महाप्रवन्धक सञ्जीब झा आर्थिक अनियमिततामा मुछिएसँगै मन्त्री भुसाल थप बिबादित बने ।

अहिले पनि किसानले दूधको मूल्य पाइरहेका छैनन् । सहकारी तथा डेरीहरुले किसानको दूध किन्न मानिरहेका छैनन् । दूधको माग र खपत घटेको भन्दै सहकारी र डेरी उद्योगले दूध खरिद नगर्दा किसान थप मारमा छन् ।

त्यतिमात्र होइन्, डेरी उद्योगहरु पनि पछिल्लो समय धराशायी हुने अवस्था सिर्जना भएको छ । कारण, दूध र दूग्धजन्य पदार्थको खपत नहुँदा दूग्धजन्य पदार्थको मौज्दात बढिरहेको छ । तर, उपभोगमा आएको कमीका कारण पनि मिल्क उद्योगहरुले क्षमताअनुसार दूध कन्र्भसन गर्न नसक्दा त्यसको प्रत्यक्ष मार किसानलाई परेको हो । यो विषयमा पनि तालुक निकाय कृषि मन्त्रालय र कृषि मन्त्री भुसाल मौन नै छन् ।

केही समय अघि किसानले मूल्य नपाएको झोँकमा कालीमाटी तरकारी बजार परिशरमा गोलभेडा फ्याकेर विरोध गरे । त्यसअघि पनि किसानले दूध नबिकेपछि सडकमै फ्याक्न बाध्य भए ।

तर, कृषि मन्त्रालय बेखबर बन्यो । किसान आफुले पसिना बगाएर उत्पादन गरेको उखुको मूल्य पाउन पुसको जाडोमा काठमाडौंमा आएर आन्दोलन गर्दा कृषि मन्त्रालय बेखबर नै रह्यो । कृषि मन्त्री भुसाल निर्देशनमा मात्र भुलिरहँदा समग्र कृषिक्षेत्र र किसानको अवस्था भने झन् झन् चिन्ताजनक बन्दै गएको देखिन्छ ।