फिक्कल (इलाम) । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थालेका हुन् ।
अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका–५ का किसान मतिराज राईले जानकारी दिए । “सिमल खेती गर्न अन्य खेतीभन्दा सजिलो र बढी मेहनत गर्नुनपर्ने भएकाले यसको खेतीतर्फ किसानको आकर्षण बढेको हो”, उनले भने । थोरै लगानीबाट नै राम्रो आम्दानी लिन सकिने भएकाले यहाँको किसानको रोजाइमा सिमल खेती परेको हो ।
यहाँका किसानले एकल तथा सामूहिकरुपमा व्यावसायिक सिमल खेती गर्दै आएका छन् । घरमा खाजाका लागि रोपण हुँदै आएको सिमल तरुलको माग पछिल्ला दिनमा बजारमा बढेसँगै व्यावसायिक खेती विस्तार हुन थालेको चुलाचुली–४ का किसान धनबहादुर योगीले बताए । “पहिले पहिले सिमल घरमा खाजा खानका लागि मात्र रोप्ने गरिन्थ्यो, तर पछिल्लो समय बजारमा माग बढेपछि अन्य खेती मासेर व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छौँ”, उनले भने । उन्नाइस बिघा १३ दशमलव ६ कट्ठा क्षेत्रमा व्यावसायिक सिमल खेती हुँदै आएको चुलाचुली गाउँपालकाको तथ्याङ्क छ ।
यहाँका धेरै किसानले करेसाबारीमा सिमल खेती लगाएका छन् । यहाँ उत्पादिन सिमल तरुल निर्यातका लागि बजारको कुनै समस्या छैन । सिमल तरुल किन्न स्थानीय व्यापारी किसानको बारीमा नै पुग्ने गरेका छन् । व्यावसायिक उत्पादन बढेसँगै सिमल तरुल खरिद गर्न चुलाचुली आउने स्थानीय व्यापारीको सङ्ख्यासमेत बढ्दै गएको योगीले बताए। तरुल बजार निर्यातका लागि स्थानीय व्यापारीबाट सङ्कलन हुने गरेको छ । सङ्कलन भएको तरुल व्यापारीमार्फत दैनिकरुपमा झापाको दमक, विर्तामोड, मोरङको उर्लाबारी, सुनसरीको इटहरी र धरानसम्मका बजार पुग्ने गरेको छ । सिमल तरुलको खरिदबिक्री पुस, माघ र फागुनमा बढी हुन्छ ।
बजारमा यसको माग बढ्दै गएपछि किसानको मुख्य आम्दानीको स्रोतसमेत बन्न थालेको छ । सुगर, प्रेसरलगायत दीर्घरोगीले समेत खान मिल्ने सिमल तरुल किसानको बारीबाट प्रतिकिलो रु ३० देखि ४० मा बिक्री हुँदै आएको छ ।