एग्रो रिसोर्ट आन्तरिक पर्यटकको रोजाइमा

२०८० फाल्गुन ५ गते प्रकाशित

गलकोट । स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ । गलकोटका युवा उद्यमी हुम थापाले तीन वर्षअघि सुरु गर्नुभएको उक्त रिसोर्ट पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

कलकल बगेको दरमखोला । छेउमै खरले छाएका कटेजसहितको रिसोर्ट । पुरोनो शैलीमा निर्माण गरिएको घर, आधुनिक शैलीका पौडी पोखरी९स्विमिङ पुल०देखि गुलेली पिङसम्मका पूर्वाधार । गलकोटस्थित घुम्टेको फेदमा छ दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट ।

रिसोर्टमा घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएसँगै तीन वर्षअघिदेखि सञ्चालनमा आएको रिसोर्टलाई विस्तारै साहसिक पर्यटनको केन्द्र बनाउँदै लगिएको थापाले बताए। रिसोर्टमा खाना र बस्नका लागि मात्र नभई साहसिक पर्यटकको रोजाइ बनाउनका लागि लगानी बढाउँदै आइएको उनको भनाइ थियो ।

थापाले रिसोर्टमा आधुनिक र परम्परागत दुवै शैलीलाई सँगै लिएर भौतिक पूर्वाधार वृद्धि गरिरहेको बताउँदै हालसम्म रिसोर्टमा रु साढे दुई करोड लगानी भइसकेको जानकारी दिए।

रिसोर्टमा पछिल्लो समय तीन वटा खरले छाएका कटेज र दुई वटा गुलेली पिङ थप गरिएको बताउँदै थापाले स्काई साइकिलिङ र जिपलाइन सञ्चालनको तयारी रहेको जानकारी दिए। गाउँमै सम्भावना खोजे विदेश जान नपर्ने सन्देश दिनलाई एग्रो रिसोर्ट स्थापना गरेको उनको भनाइ थियो ।

“रिसोर्टभन्नासाथ खान र बस्न भन्ने बुझिन्छ तर यसलाई साहसिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य छ । दरमखोलामाथि जिपलाइन र स्काइसाइक्लिङको व्यवस्था मिलाउँदै छु”, थापाले भने, “रिसोर्टलाई फनपार्कका रुपमा विकास गर्न जग्गा अभाव भयो । अब साहसिक पर्यटन लक्षित गरेर सञ्चालनको तयारी भइरहेको छ । यहाँ रेम्बो ट्राउट माछाका परिकार लोकप्रिय छन् ।”

रिसोर्टमा अहिले दुई सय आन्तरिक पर्यटक आउने गरेको बताउँदै थापाले गर्मी महिनामा बढी पर्यटक आउने अपेक्षा रहेको उल्लेख गरे। गलकोट नगरपालिकाको केन्द्र हटिया बजार नजिकै रहेको उक्त रिसोर्टमा चाडपर्वका समयमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । अहिले रिसोर्टमा बस्नलाई जम्मा पाँच श्यया मात्रै रहेको बताउँदै करिब दुई सय क्षमता बराबरको स्थान रहेकाले यसलाई विस्तार गरिने थापाको भनाइ थियो ।

थापाका अनुसार असला माछा पाइने दरमखोलाको छेउको २८ रोपनी जग्गामा रेम्बो ट्राउट माछापालन, स्विमिङ पुल, गुलेली पिङसहितको रिसोर्टमा दैनिक दुई सय आन्तरिक पर्यटक अवलोकनसँगै माछाको परिकार खान आउने गरेका छन् । माछासँगै लोकल कुखुरा, हाँस, कालिजका परिकारकोसमेत स्वाद लिन पाइने उनले जानकारी दिए।

गलकोट नगरपालिका–७ मल्म घर भई गलकोट नगरपालिका–३ मा थापाले उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन।

ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिने भएकाले बजारमा पनि ट्राउटको माग बढी रहेको थापाको भनाइ थियो । उहाँका अनुसार रिसोर्टमा आराम र पारिवारिक खानपानका लागि छुट्टै ‘कटेज’हरु पनि बनाइएका छन् । साजसज्जाका कारण यहाँ पुगेर फोटो खिच्न स्थानीय लालयित हुने गरेका उनको भनाइ थियो ।

गलकोटका धेरै युवा विदेश गएका भन्दै आफूले स्वदेशमा नै केही गर्ने सोचका साथ रिसोर्ट स्थापना गरेको थापाले बताए। उहाँले यस क्षेलाई प्रकृतिसँग रमाउँदै साहसिक पर्यटनको केन्द्र बनाउने लक्ष्य रहेको बताए । घुमफिर, मौलिक खानपान, संस्कृतिमा रमाउन चाहनेलाई रिसोर्ट उपयुक्त गन्तव्य बनिरहेको छ । रासस