बिहीबारदेखि दूग्ध किसानको आन्दोलन घोषणा, देशभरका ३० ठाउँमा चक्काजामसहित विरोध प्रदर्शन

२०८० फाल्गुन १५ गते प्रकाशित

काठमाडौँ । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् ।

दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो चक्काजाम गरिने केन्द्रीय दुग्ध सहकारी संघ लिमिडेटका महासचिव राम प्रसाद आचार्यले बताए ।

दुग्ध बक्यौताको रकम माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उनले बताए । संघको नेतृत्वमा मंगलबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

दुग्ध किसानका विभिन्न संघसंगठनले विगत करिब ५ महिनादेखि ६ अर्ब रकम भुक्तानी पाउन नसकेको दाबी गर्दै आएका छन् ।