दूध किसानको मर्का किन बुझ्दैन सरकार ? दूधको मूल्य खोज्दै किसान सडकमा

२०८० फाल्गुन १८ गते प्रकाशित

काठमाडौं । यतिबेला देशभरका दूध उत्पादक किसान आफुले उत्पादन गरेको कच्चा दूधको मूल्य नपाएको विरोधमा सडक प्रदर्शनमा छन् । बिहीबारदेखि केन्द्रीय दूग्ध उत्पादक संघमा आवद्ध डेरी उद्योगी र किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

गएको बिहीबारदेखि दूध उत्पादक किसानले काठमाडौ केन्द्रीत सडक प्रदर्शन तथा सडक जामलगायतका विरोधका कार्यक्रम अघि बढाइरहेका छन् । दूध उत्पादक किसानले आफ्नो दूधको बाँकी भुक्तानी नदिएर सरकार निर्दयी बनेपछि सडकमा उत्रिएका हुन् ।

संघका अध्यक्ष अम्मरबहादुर कुँवरले लामो समयदेखि दूध उत्पादक किसानले मूल्य नपाएको र डेरी उद्योगबाट उत्पादित दूग्धजन्य पदार्थको मौज्दात बढेकाले त्यसको प्रत्यक्ष मार दूध उत्पादक किसानमा परेको बताए । ‘एकातिर किसानले दूधको भुक्तानी पनि नपाउने । उता सरकारले डीडीसीलाई मात्र सहुलियत अनुदान दिने, अरु निजी डेरी उद्योगलाई पाखा लगाउन मिल्छ ?’ उनले भने, ‘त्यसकारण, किसान बाध्य भएर अहिले सडकमा आउनुपरेको हो ।’

संघअन्र्तगतका विभिन्न डेरीआवद्ध सहकारीका किसानहरु अहिले काठमाडौंमा आन्दोलनका लागि आएका हुन् । खाससगरी, चितवन, नवलपरासी, भक्तपुर, ललितपुर,काभ्रेलगायत अन्य विभिन्न जिल्लाका दूग्ध किसानहरुले काठमाडौंको माइतीघरलगायत विभिन्न क्षेत्रमा बिहीबारदेखि सडक प्रदर्शन गरिरहेका छन् ।

दूग्ध किसान यतिबेला सडक प्रदर्शनमा भइरहँदा सिंहदरबारभित्र रहेको किसानको अगुवा मन्त्रालय कृषि तथा पशुपन्छी विकास मन्त्रालय भने बेखबर छ । दूध किसानको समस्या टड्कारो रुपमा उठिरहँदा कृषि मन्त्री मन्त्रालयमा भेटिदैनन् । शायद मधेस प्रदेश तिर पसे कि ।

अहिले सरकारी तथा निजी डेरी उद्योगले झन्डै ६ अर्ब रुपैयाँ भुक्तानी किसानलाई दिन बाँकी छ । मुलुकमा उत्पन्न आर्थिक मन्दीका कारण डेरी उद्योगबाट उत्पादित दूग्धजन्य पदार्थको माग र खपत घट्दा उद्योगहरु समेत धरशायी हुने अवस्थामा छन् ।

त्यसभन्दा पनि महत्वपूर्ण कुरा त दूग्ध किसान नै यसबाट सबभन्दा बढी पीडित छन् । यता, सरकारी स्वामित्व दूग्ध विकास संस्थान(डीडीसी) ले पनि दूग्ध किसान दूधको बक्यौता तिर्न सकिरहेको छैन् । दूग्धजन्य पदार्थको माग र खपतमा देखिएको असन्तुलनले डीडीसीले पनि किसानको दूधको मूल्य नियमित रुपमा दिन सकिरहेको थिएन् ।

अहिले ती किसान पनि आन्दोलनमै छन् । डीडीसीले हालसम्म ५५ करोडभन्दा बढी रकम किसानलाई दिन बाँकी छ । किसानले दूधको मूल्य नपाएर आन्दोलनको बाटो अपनाइरहँदा कृषि मन्त्री र २/२ जना सचिवहरुले अवश्य पनि ध्यान दिनुपर्ने हुन्छ । आवश्यक परे कृषिमन्त्रीले प्रतिनिधि सभा बैठकमै यो बिषयलाई स्पष्ट पार्नुपर्ने हुन्छ ।

दूग्ध किसानको पछिल्लो आन्दोलन र सरकारले चाल्नुपर्ने कदमका बारेमा पनि कृषिमन्त्रीले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरेर होस् वा संसद बैठकमै समय मागेर किसानका समस्यामा सरकारको धारणाबारे स्पष्ट पार्नुपर्ने हुन्छ ।