पाँच बुँदे सहमतिपछि दूध किसानको आन्दोलन स्थगित

२०८० फाल्गुन २० गते प्रकाशित

काठमाडौं । सरकार र दूग्ध किसानबीच पाँच बुँदे सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित भएको छ । गत बिहीबारदेखि सडक आन्दोलनमा होमिएका दूग्ध किसानका प्रतिनिधि र सरकारबीच शनिबार भएको बैठकमा पाँच बुँदे सहमति भएको हो ।

उक्त बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुतर्फका सचिव डा. रेवतीरमण पौडेल, केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष अम्मरबहादुर कुँवर, मन्त्रालयका सचिव डा. सुर्यप्रसाद पौडेल,दूग्ध विकास बोर्ड, निजी डेरी उद्योगका प्रतिनिधि र डीडीसीका पदाधिकारीहरुसहितको बैठकले पाँच बुँदे सहमति गरेको छ ।

आउँदो चैत २१ सम्ममा दूध किसानको सम्पूर्ण भूक्तानी दिन उद्योगीहरु समेत सहमत भएका छन् । दूग्ध किसानका माग तत्काल पूरा गर्ने, सहकारीबाट खरिद गरेको दूग्ध उद्योगले परिमाण नघटाइकन मिल्क हलिडे नहुनेगरी निरन्तर खरिद गर्ने, कृषि तथा पशु बीमा कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउने, दूग्धजन्य पदार्थको निर्यात प्रवद्र्धनका लागि आगामी नीति तथा कार्यक्रममा समावेश गर्नेलगायतका बुँदामा सहमति भएको छ ।