काठमाडौं । गत २०७९ चैत १८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका मन्त्री डा. बेदुराम भुसाल अन्ततः प्रचण्ड सरकारको मन्त्रिमण्डलबाट बाहिरिएका छन् ।
वहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दललाई लिएर नयाँ सत्ता समीकरण विस्तार गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी स्वंयम प्रधानमन्त्री प्रचण्डलाई नै छ ।
प्रचण्डले अकस्मात नयाँ राजनीतिक समीकरणको बाटो रोजेसँगै त्यसबेलाका मन्त्रिमण्डलका पुराना मन्त्रीहरु बर्खास्तीमा परेका हुन् । जसमा तत्कालीन प्रचण्ड सरकारबाट नेकपा एकीकृत समाजबादीका डा. बेदुराम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
भुसालले ११ महिना ५ दिन कृषिमन्त्री भएर आफ्नो कार्यसम्पादन गरेर बाहिरिँदै गर्दा यो बीचमा मन्त्री भुसालले के के राम्रा काम गरे ? के नराम्रा काममा उनी मुछिए भन्ने बिषय केलाउन जरुरी देखिन्छ ।
भुसालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पदभार गरिरहँदा मुलुकमा किसानले रासायनिक मल पाइरहेका थिएनन् । अर्थात, रासायनिक मल खरिद र वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी कामू मा सीमित थियो ।
किसानले धानखेती गर्ने बेला असार साउनमा देशभरका किसानले आवश्यक पर्ने रासायनिक मल पाउँदैन् । ५ किलो रासायनिक मलका लागि सहकारीमा दिनभर घाममा लाइनबद्ध किसानका ती समस्यामा पनि कृषिमन्त्री भुसालले काम गर्न सकेनन् ।
अहिले पनि रासायनिक मलको आपूर्ति पर्याप्त छैन् । त्यतिमात्र होइन्, कृषिमन्त्री भुसालले आफुले दूग्ध किसानको समस्या एक महिनाभित्र समाधान गर्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशन न सरकारी स्वामित्व रहेको दूग्ध विकास संस्थान(डीडीसी) ले मान्यो । न त, अन्य निजी डेरी उद्योगले नै ।
अहिले पनि डीडीसी र अन्य निजी डेरी उद्योगले किसानलाई ६ अर्ब बढी रुपैयाँ भुक्तानी दिन बाँकी छ । किसानको दूग्ध सहकारीले नियमित रुपमा संकलन गर्न नसकिरहेको किसानको गुनासो छ । यता, डेरी उद्योग र सहकारीले भने बजारमा दूग्धजन्य पदार्थको माग र खपत घटेकाले उद्योगमा दूग्धजन्य पदार्थको मौज्दात(स्टक) बढिरहेको छ ।
दूध र दूग्धजन्य पदार्थको माग र खपत नहुँदा किसानको भुक्तानी दिन नसकिरहेको डेरी उद्योगीको दुखेसो छ । मन्त्री भुसालले पटक पटक निर्देशन दिएको दूध किसानको मुद्धामा पनि उनी चुकेका छन् ।
कृषि अनुसन्धान परिषद्(नार्क) को प्रमुख नियुक्ति विवाद पनि मन्त्री भुसालल विवादित बने । डा. धु्रवराज भट्टराइलाई नार्कको प्रमुख नियुक्तिमा चलखेल गरेको आरोपमा मन्त्री भुसाल नै मुछिए ।
त्यतिमात्र होइन्, सरकारी स्वामित्वको दूग्ध विकास संस्थानको तत्कालीन महाप्रवन्धक सञ्जीव झाले अनियमित रुपमा दूग्ध वितरणमा चलखेल गरेको तथ्य बाहिरिएसँगै मन्त्री विवादित बन्न पुगे ।
अघिल्ला मन्त्रीका पालामा महाप्रवन्धकमा जिम्मेवारी सम्हालेका सञ्जीव झा कृषिमन्त्रीमा भुसाल आएसँगै रुष्ट थिए । आर्थिक चलखेल गर्न सजिलो हुने मन्त्री बाहिरिएका झाले भुसाल मन्त्री हुँदा पनि चलखेल गर्न भने छाडेनन् । किसानको भुक्तानी नदिने र दूध नकिनेर अनियमित रुपमा चलखेल गरिरहेका झाको प्रवृत्तिका कारण पनि मन्त्री थप विवादित बन्न पुगे ।
यीबाहेक उखु किसानको अनुदानबापतको बाँकी भुक्तानी अहिलेसम्म मन्त्री भुसालले दिलाउन सकेनन् । दूग्ध किसानको ६ अर्ब रुपैयाँ भुक्तानीको आन्दोलन उनी बाहिरिनुभन्दा २ दिनअघि मन्त्रालयमा सहमति गराएर दूग्ध किसानको आन्दोलन स्थगित गराउन पुगे मन्त्री भुसालले ।
त्यतिमात्र होइन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई मोबाइल भ्यान सञ्चालनका लागि दिएको निर्देशन कर्मचारीले पालना नगरेको स्वंयम मन्त्री भुसालले भने सार्वजनिक फोरमबाट बोल्दै आएका हुन् । ३।३ पटकसम्म विभागलाई मोबाइल भ्यान चलाउनका लागि निर्देशन दिए पनि विभागले नअटेरेकोप्रति मन्त्री रुष्ट थिए ।