काठमाडौं- गत आर्थिक वर्ष २०७९÷०८० को अवधिमा नेपालमा २ करोड ६४ लाख केजी चिया उत्पादन भएको छ । कुल २० हजार २३० हेक्टर जमिनमा सो परिमाणको चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
२८ औं राष्ट्रिय चिया दिवशको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनका अवसरमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा। दीपक खनालले यस्तो बताएका हुन् ।
त्यस्तै सो आवमा झन्डै ४ अर्ब रुपैयाँ बराबर चिया निर्यात भएको छ । उक्त अवधिमा १ करोड ६५ लाख केजी चिया निर्यातबाट ३ अर्ब ९४ लाख रुपैयाँ आर्जन भएको उनले बताए । जुन अघिल्लो वर्ष २०७८/०७९ को तुलनामा २२ हजार ४४९ केजी चिया उत्पादन बढी हो । सो आवमा २ करोड ३७ लाख चिया उत्पादन भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार, गत आवमा भने चिया उत्पादन हुने क्षेत्रफल पनि सामान्य घटेको छ । चियाका बगानहरु धेरै पुराना भएका कारण चिया उत्पादनक्षेत्र ७ हेक्टरले घटेको छ । आव २०७८/०७९ मा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चिया उत्पादन भएकोमा गत आवमा २० हजार २३० हेक्टरमा मात्र चिया उत्पादन भएको हो ।
नेपाल निर्यात गर्नेमध्ये ९७.८० प्रतिशत चिया निकासी भारतमा नै हुने गरेको छ । तर, केही हप्ता अघि भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू एवं व्यवासायीहरूको संयूक्त पहलमा तत्कालका लागि भारतिय अवरोध हटेर हाललाई ती १७ वटा ट्रक छुटाएका खनालले बताए ।
तर, विगतमा पनि भारतीय पक्षबाट यस्ता अवरोधहरू भइ नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने सम्भावना रहेको उनले बताए ।
बोर्डले बैशाख १५ गते २८ औं राष्ट्रिय चिया दिवश मनाउँदैछ । ‘कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ भन्ने मूल नाराका साथ बोर्डले केन्द्रीय कार्यालय कीर्तिपुर चिया दिवशको मूल समारोह आयोजना गर्दैछ । उक्त समारोहको कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।
चिया दिवशका अवसरमा उत्कृष्ट चिया उत्पादक किसान, सप्लायर्स, चिया उत्पादक कम्पनी तथा संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।