चरनमा आधारित बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

२०८१ जेष्ठ २५ गते प्रकाशित

गण्डकी । पशुपालन व्यवसाय थोरै युवाको कम रोजाइमा पर्दछ । युवाहरु विदेशीने क्रम बढी रहेको अवस्थामा यहाँको एक दम्पती भने बाख्रापालन व्यवसायमा भविष्य देखेका छन् । पोखरा महानगरपालिका वडा नंं १६ अर्मला हिलप्वइन्टका सुरेन्द्र सुवेदी दम्पती भने यतिखेर बाख्रापालनबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय बनेका छन् ।

उनका अनुसार दश वर्षअघि १२ स्थानीय खरिजातका माहु बाख्राबाट व्यवसाय सुरु गरेका उनको अर्मला हिलप्वइन्ट बाख्रा फार्ममा अहिले साना ठूला गरेर ९० बाख्रा पुगेका छन् । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुन्छ ।

“चरनको लागि बिहान सबेरै अर्मला काली लेकको वनमा ५९ वटा माउ बाख्रा लिएर जानु र ५ बजे फार्ममा फर्कनु दिनचर्या नै बन्नेको छ”, २८ वर्षीय सुरेन्द्रले भने, “एउटा उन्नत जातको बोयर बोकासहित ३० वटा पाठापाठी दिनमा पनि खोरमै हुन्छन् ।” पछिल्लो समयमा दानामा आधारित पशुपालनमा जोड दिइरहेकाअवस्थामा उनले भने चरनमा आधारित बाख्रापालन गर्दै आएक छन् । माहु दिनभरि जङ्गलमा चर्दछन् खोरमा रहेका लागि फार्म परिसरमा रहेको नेपियर घाँस र मकै खुवाउने गरेको सुरेन्द्रले राससलाई जानकारी दिए ।

लेकको जडीबुटीमा चरेका खसी बोकाको मासु खाने पारखीको कारण माग बढेको छ । फार्ममा उत्पादन भएका खसी बोका बिक्री हुँदैन कि भन्नु पर्दैन ग्राहक खोरमा नै खरिद गर्न आउँछन् उनको भनाइ छ । दशजोड दुई पास गरेका सुरेन्द्रले भने, “स्थानीय खरिजातका बाख्रालाई तनहँुको बन्दीपुरबाट रु एक लाख ५० हजारमा खरिद गरेको बोयरजातको बोका दिएपछि जन्मेका पाठापाठीमा नश्ल सुधार हुँदा तौलसमेत बढेको कारण आम्दानीमा समेत वृद्धि भएको छ ।

कृषक सुरेन्द्र भन्छन्, “बाख्रा वर्षमा दुई पटक ब्याउने गरेको र दुईदेखि तीनवटासम्म पाठापाठी पाउने गरेको छ । खोरमा जन्मेका बोका जिउँदो रु छ सयमा प्रतिकिलोमा बिक्री गर्ने गरेको र पाठी हुर्काउँदा अहिले खोर भरिएर थाहै नपाई व्यवसायमा परिणत भएको छ । ”

घर परिवारसँगै बसेर व्यवसाय गर्ने हो भने जीविकोपार्जनका लागि विदेशिनुपर्दैन भन्ने सोचका साथ सुरु गरेको बाख्रा फार्ममा अहिलेसम्म २० लाखभन्दा बढी लगानी भएको छ । आधुनिक खोर बनाउँदा मात्र साना किसानबाट रु १० लाख ऋण लिएको बताउँदै उनले भने, “अहिलेसम्म सरकारीस्तरबाट कुनै पनि अनुदान सहयोग पाएको छैन । दिनभरि बाख्रा चराउने र साँझ तिनैको स्याहासुसार गर्नुपर्छ । कहाँ अनुदान पाइन्छ थाहा नै छैन । ”

समुद्री सतहबाट झण्डै एक हजार आठ सय मिटरको उचाइमा गोठ रहेको छ भने केही माथि अर्मला कालीलेकको रोला, स्याम्से, सिचा, क्रेटो लागतका जङ्गलमा बाख्रा चराउन लाने गरेको २४ वर्षीया गङ्गाले बताइन ।

फागुन महिनामा कालीलेकमा चरनको लागि लैजाने गरेको चार महिनासम्म क्रेटोमा काठबाट निर्माण गरेको गोठमा राख्ने गरेको जनाउँदै उनले भनिन, “चिसोको कारण धेरै बाख्रा मर्ने गर्दछन् भन्ने खोरमा जन्मेका पाठापाठी पनि ६० प्रतिशत मात्र हुर्कने गरेका छन् ।”

बाघ, भालु, स्याललगायतका जङ्गली जनावरले आक्रमण गरी मार्ने गरेको छ भने कतिपय त चरणमा लडेर, लहरामा अड्के मर्ने गरेको उनको दुखेसो छ । पानी पर्न थालेपछि बाख्रालाई चरनमा लागेका जुका गोठमा आइपुग्दा बोका र पाठापाठीलाई समेत टोकेर दुःख दिने गरेका छन् । गोठमा मात्र होइन यतिखेर बारीमा पनि जुकाको बिगबिगी छ ।

“व्यवसाय सञ्चालनको सुरुमा खासै ज्ञान थिएन गाह्रो महसुस भएको थियो चिसो स्थान भएको कारण कतिपय बाख्रा निमोनियाले मरेको दुखेसो सुनाउँदै”, दश जोड दुई पास गर्नुभएको गङ्गाले भनिन, “अहिले बाख्रा पाल्ने काम सजिलो लाग्न थालेको छ ।”

पोखरा–१६ मौरी पकेट क्षेत्र घोषणा गरी सयौँ मौरीसहितका घार ५० प्रतिशत अनुदानमा स्थानीयलाई वितरण गरेको सुने पनि आफूले प्राप्त गर्न नसकेको जनाउँदै उनले भने, “बेरोजगार भएर मुलुकका युवा विदेशिएको वर्तमान अवस्थामा राज्यले स्वदेशमै स्वरोजगार सिर्जना गरी आयआर्जन गर्दै राज्यलाई समेत योगदान पु¥याउँदै आएका युवालाई अनुदानले छुन सकेको छैन । ” रासस