धानको बीउ नपाएर किसान हैरान

२०८१ जेष्ठ २७ गते प्रकाशित

महोत्तरी । भर्खरैको वर्षाले खेतमा राम्रो चिस्यान भएपछि यहाँका किसान धानको ब्याड राख्ने तयारीमा छन् । भरपर्दो बीउ नपाउँदा किसानको हैरानी भने बढेको छ । जेठ चौथो साताको प्रारम्भसँगै यहाँका सबै भेगमा परेको पानीले माटोमा चिस्यान बनेको छ । यो चिस्यानमै ब्याड राख्ने तरखरमा रहेका किसान बीउ नपाएपछि हैरान बनेका हुन् ।

‘धुले बीउ राख्न हुनेगरी पानी त प¥यो, तर भरपर्दो बीउ पाइएको छैन’, भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान शेष जब्बर भन्छन, ‘बजारमा किनिएको बीउ राम्रो उमारेको नहुँदा विगतमा दुःख पाएका छौँ ।’

बजारमा किनिएको बीउ राम्ररी नउम्रने, नगाँजिने र पोटिलो दाना नलाग्ने गरेको विगत अनुभवले जब्बारलाई अब के गर्ने भन्ने चिन्ताले पिरोलेको छ । जब्बारमात्र नभएर यहाँका अधिकांश किसान अहिले आफ्नै स्थानीय तहको कृषि शाखाबाट बीउ पाउने आशमा बसेका छन् ।

धेरैजसो स्थानीय तहका कृषि शाखाले किसानलाई सुपथ मूल्यमा दिइने बीउको व्यवस्था नगर्दा किसान फेरि खुला बजारकै भरपर्नुपर्ने भएको छ । ‘पोहोर, परार सस्तो महँगो जे–जस्तो भए पनि वडा कार्यालयबाट बीउ पाइएको थियो’, सो बस्तीकै अर्का किसान गङ्गाराम महतो सम्झन्छन, ‘यसपटक बीउ वितरणबारे थाहा पाइएन ।’

जेठ मध्यअघि नै राखिसक्नुपर्ने ब्याड यसपटक वर्षा ढिलो हुँदा किसान पछि परेका हुन् । अब समय निकै घर्किसक्दा धान रोप्नै नपाइने पो हो कि भन्ने चिन्ताले किसानको पिरोलो बढेको हो । राम्रो बीउको अभावले मुख्य बाली मानिएको धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपाली अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका छन् । हिउँदे वर्षा राम्रो नपर्दा चैतेबालीबाट राम्रो उत्पादन लिन नसकिएको र वैशाखे तरकारीबाली खडेरीमा परेर पहेँलिएको हुँदा किसानको आश अब धानमा टिकेको हो । यो जिल्लाकै मुख्यबाली समयमा लगाउन नपाइएपछि गुजाराको सङ्कट बढ्ने किसानको चिन्ता छ ।

बर्दिवास–९ पशुपतिनगरका ६५ वर्षीय किसान रामचन्द्र थापामगर बीउकै खोजीमा भौतारिनुपरेको छ । पहिले नै पानी नपर्दा बर्खे धानको बीउ राख्ने समय नभएको हुँदा अब हिउँदे धानको मात्र किसानको आश छ ।

असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ सुरु गरिनुपर्ने यो खेतीको तालिका छ । जेठ सकिनै लाग्दासम्म बीउ नपाएर ब्याड राख्न नपाएका किसान रनभुल्ल परेका छन् । ‘जेठ सकिनै लाग्यो, धानको बीउ पाइएको छैन’, जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान इब्राहिम राइन भन्छन, ‘यसपाली राम्ररी धान रोप्न पाइने छाँट छैन ।’