लमजुङ । यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो । ढिँकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।
दोर्दी गाउँपालिका ३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै जीवन बिताए पनि पछिल्लो समय लोपहुने अवस्था आएको बताउछीन । ढिँकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोले परिवारलाई खुवाएर जीवन धान्दै आएको कुरा अब स्मरणमा सीमित भएको उनले सुनाइन । “विगतमा ढिँकीजाँतोमा सङ्घर्ष गरिएका ती दिन र समय अहिले कथा जस्तै भएका छन् । पहिले गाउँमा ढिँकीजाँतो नभएको कुनै घर नै हुँदैन थियो तर अचेल ढिँकीजाँतो देखिन छाडे । अहिले सम्झदा पनि कथा जस्तै लाग्छ”, उनले भनिन ।
दूधपोखरी गाउँपालिकाकी ८६ वर्षीय यमकुमारी गुरुङले पछिल्लो पुस्ताले चासो नदिँदा परम्परागत ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको बताइन । “हाम्रा पालामा सबैले घरमा ढिँकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र पिन्ने मिसिन आयो, अहिले केलाई चाइयोरु ढिँकीजाँतो”, उनले भनिन, “ढिँकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद सम्झदा पनि जिब्रो रसाउँछ । त्यो शौभाग्य अहिलेका चेलीबुहारीले त देख्न पाएनन् ।”
त्यस्तै, दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै बिताए ती परम्परागत सामान देख्न नपाएको धेरै भइसकेको सुनाइन । “हाम्रो धेरै समय त्यसैमा बित्यो तर पछिल्लो समय त्यसबाट कुटेका पिसेका खाने कुरा त कल्पनामा सीमित भएका छन् । समय परिवर्तन भएजस्तै हाम्रा मौलिकता पनि हराउन थाले । निकै दुःख लाग्छ”, उनले गुनासो गरिन।