तरबुजाखेतीबाट मनग्य आम्दानी

२०८१ असार १ गते प्रकाशित

घोराही । (दाङ) रोल्पा माडी गाउँपालिका १ जबाङ दुदिलाबोटका २६ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका ५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन ।घोराही उपमहानगरपालिका ७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउछन।

कृषि विषय अध्ययन गरेका उनि आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताउछन । उनले भने, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एकजना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि सुरु गरेका हौँ ।” यसबाट राम्रो आम्दानी भइरहेको उनले बताए । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आएक छन् ।

घुस्रामा चार बिघा र झिँगौरामा नौ कठ्ठा जग्गा रु ५० हजार तिर्ने गरेर तीन महिना अवधिको लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहेका छन । अहिले सरस्वती र विशाला जातको तरबुजा रु ५० किलोका दरले र आरोही रु ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताउछन्। अहिले दैनिक सात आठ सय किलो बिक्री हुन्छ । हालसम्म १४ हजार किलो बिक्री गरिसकेको उनले जानकारी दिए । तीन महिनाको अवधिमा रु १० लाखको कारोबार गर्ने र आधाभन्दा बढी रकम बचत गर्ने लक्ष्य रहेको उनि बताउछन।

“सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ”, किसान वलीले भने । अरुको देशमा जानुभन्दा स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उनले बताए । उनले भने, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुनेछ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उनि बताउछन ।