काठमाडौं- दूधको मूल्य नपाएर दूग्ध विकास संस्थान(डीडीसी) परिशरमा शान्तिपूर्ण धर्नामा रहेका किसानहरुलाई प्रहरी प्रक्राउ गरेको छ । बुधबार बिहान डीडीसीको गेटमा धर्ना दिन पुगेका दूग्ध किसानलाई प्रहरीले त्यहाँबाट हटाएको हो ।
आफ्ना जायज माग राखेर डीडीसी अघि धर्ना दिएका किसानहरुलाई प्रहरीले धरपकड गरेको हो । खासगरी, दूग्ध किसानले आफ्नो दूधको मूल्य नपाएको, उचित मूल्य नपाएको र लामो समयदेखि डीडीसीले पनि किसानको भुक्तानी नदिएको विरोधमा केन्द्रीय दूग्ध सहकारी संस्थालगायतका किसान संगठनहरुले लगातार आन्दोलन गर्दै आएका थिए ।
त्यसअनुसार, किसानहरुले बुधबार डिडीसीमा धर्ना दिने तथा तालाबन्दी गर्ने कार्यक्रम थियो । त्यसअनुरुप नैे शान्तिपूर्ण रुपमा धर्ना दिन डीडीसीमा पुगेका किसानलाई प्रहरीले तितरबितर पारेको हो । किसानले जायज माग राखेर धर्ना दिन खोजेपनि उल्टै सरकार र सिँगो प्रहरी प्रशासन किसानमाथि दमनमा उत्रिएको संघका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
प्रहरीको ज्यादती र दमनविरुद्ध किसान नडराउने र आफ्ना आन्दोलनका कार्यक्रम अझ शसक्त पार्ने उनले बताए ।