काठमाडौं– हालसम्म देशभर करिब १० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कुल १३ लाख ९८ हजार ९३६ हेक्टर धान रोपाइँँ हुने क्षेत्रमध्ये असार १२ गतेसम्म करिब १० प्रतिशत अर्थात १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।
विभागबाट प्राप्त विवरणअनुसार, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सवैभन्दा बढी २२ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । धान बढी उत्पादन हुने तराईका जिल्लाहरुमा अझै पनि रोपाइँ सुरु हुन सकेको छैन् । खासगरी, कोशी प्रदेशमा ६.५ प्रतिशत, मधेस प्रदेशमा २.९ प्रतिशत, बागमति प्रदेशमा ५ प्रतिशत, गण्डकी प्रदेशमा करिब ७ प्रतिशत र लुम्बिनी प्रदेशमा करिब ११ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको हो ।
देशभर वर्षा नफैलिँएकाले तराईका अधिकांश जिल्लामा रोपाई हुन बाँकी रहेको विभागले जनाएको छ । अघिल्लो वर्ष २०८० जेठ १० गतेसम्म करिब ९ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
यसपाली मनसुन भर्खर सुरु भएकाले र साउनको अन्तिमसम्म नै रोपाइँ हुने हुँदा सतप्रतिशत क्षेत्रफलमा रोपाइँ हुने विभागको अनुमान छ ।