राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, बछौलीमा प्रधानमन्त्रीले धान रोप्ने

२०८१ असार १४ गते प्रकाशित

काठमाडौं– २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ मनाइने भएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ का दिन रोपार्इँ महोत्सव मनाउन लागिएको विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

कृषि विभागमा आयोजित पत्रकार सम्मेलनमा यस वर्षको २१‍औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा आषाढ १४ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको प्रमुख आतिथ्यतामा र कृषिसँग सरोकार राख्ने प्रतिनिधिहरु सहभागितामा धान विशेष अन्तरक्रिया कार्यक्रम (राइस सिम्पोजियम) सञ्चालन हुने तय गरिएको छ

असार १५ का दिन भने चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा रोपाइँ मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने कार्यक्रम रहेको विभागले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो। हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ। यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो। धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि।सं। २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्वद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको विभागले जनाएको छ।

त्यसैगरी यसै उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय कृषि मन्त्रीज्यूको सन्देश प्रकाशन एवं प्रसारण, पत्रकार भेटघाट कार्यक्रम, टेलिभिजन परिसम्वाद लगायतका क्रियाकलापहरु पनि सञ्चालन गरिने छन्। धानको महत्व एवं जलवायु परिवर्तनले उत्पादनमा पार्न सक्ने असर एवं तिनको न्यूनीकरणका उपायहरु लगायत धानको विविध पक्षहरुबारे प्रचार प्रसार र छलफल एवं बहस गरी २१‍औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि विभागका महानिर्देश तथा २१ औं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सवका अध्यक्ष डा नरहरि प्रसाद घिमिरेले बताए ।