काठमाडौं– देशभर २२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पछिल्लो समय देशभर मनसुनी सक्रिय हुँदै गएपछि धमाधम रोपाइँ हुन थालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा ५५ प्रतिशत रोपाइँ सकिएको छ । तुलनात्मक रूपमा रोपाइँ हुने क्षेत्रफल कम भएको र जेठदेखि नै किसानले रोपाइँ गर्न थालेकाले अन्य प्रदेशभन्दा बढी प्रगति देखिएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा यो वर्ष एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान छ ।
कर्णाली प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ सबैभन्दा कम ४१ हजार नौ सय चार हेक्टरमा रोपाइँ हुने अनुमान छ । धान धेरै उत्पादन हुने मधेश र कोशी प्रदेशमा रोपाइँ बल्ल सुरु भएको छ । मन्त्रालयका अनुसार मधेशमा ८.२ प्रतिशत मात्रै रोपाइँ भएको छ । यहाँ सबैभन्दा बढी तीन लाख ८३ हजार एक सय ५० हेक्टरमा रोपाइँ हुने अनुमान छ ।
त्यस्तै, कोशीमा १३.७ प्रतिशत रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान छ । बागमतीमा १९.६ प्रतिशत, गण्डकीमा २१.३ प्रतिशत र लुम्बिनीमा २२.८ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टरमा, गण्डकीमा ९८ हजार नौ सय चार हेक्टरमा र लुम्बिनीमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुने अनुमान छ । मन्त्रालयका अनुसार गत वर्ष यही समयमा २२ प्रतिशत रोपाइँ सकिएको थियो ।
