काठमाडौं– देशभरका किसानले रासायनिक मल नपाइरहेको गुनासो गरिरहँदा सरकारले भने ७५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको दाबी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग गरी ७५ हजार मेट्रिक टन मल मौज्दात रहेको हो ।
असार २६ गतेसम्मको विवरणअनुसार कृषि सामग्री कम्पनीसँग ४३ हजार ५०८ मेट्रिक टन र साल्टसँग ३१ हजार ५४२ मेट्रिक टन मल मौज्दात रहेको छ । कृषि सामग्री कम्पनीसँग २३ हजार ३९५ मेट्रिक टन युरिया, १३ हजार ५९५ मेट्रिक टन डीएपी र ६ हजार ५५६ मेट्रिक टन पोटास मौज्दात रहेको हो ।
त्यस्तै, साल्टसँग १४ हजार ७३५ मेट्रिक टन युरिया, १४ हजार ५८८ मेट्रिक टन डीएपी र २ हजार २१८ मेट्रिक टन पोटास मौज्दात रहेको छ । नेपाल र भारत सरकार–सरकारबीच (जीटुजी) विधिमार्फत २५ हजार मेट्रिक टन डीएपी मल नेपाल भित्रिन सुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
ग्लोबल टेन्डरअन्र्तगतको ३० हजार मेट्रिक टन युरिया नेपाल भित्रिन सुरु भएको र अर्को ३० हजार मेट्रिक टन युरिया मल आउँदो साउनको दोस्रो हप्तादेखि नेपाल भित्रिने प्रकृयामा रहेको कम्पनीले जनाएको छ । अहिले मौज्दात रहेको मल र आउने क्रममा रहेको मल पनि छिट्टै आउने चरणमै रहेकाले यसपालीको धानबाली र रोपाइँका लागि रासायनिक मलको कुनै अभाव नरहेको कम्पनीका प्रवन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
जीटुजीको २५ हजार मेट्रिक टन मल र ग्लोबल टेन्डरको बाँकी मल आउने भएकाले तत्कालका लागि मलको अभाव नरहेको उनको भनाइ छ ।
![](https://krishipana.com/wp-content/uploads/2024/07/data11.png)